काठमाण्डौ । सहकारी दिवसको अवसरमा पुरानो सिनामंगलमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाको १८औं वार्षिकोत्सव तथा ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यालय परिसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा १०५ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । संस्थाको सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको रक्तदान कार्यक्रमको संयोजन महिला उपसमितिकी संयोजक बिन्दा कुँवरले गरेकी थिइन् ।
राष्ट्रिय सहकारी दिवस तथा संस्थाले दर्ता प्रमाणपत्र प्राप्त गरेको दिनको स्मरण गर्दै विगत १८ बर्षदेखि निरन्तर रक्तदान कार्यक्रम गर्दैआएको अध्यक्ष भोलानाथ पाठकले बताए ।
रक्तदानमा सहभागि भइ रक्तदान गर्नुहुने रक्तदाता, प्राविधिक सहयोग उपलब्ध गराउने रक्तसन्चार केन्द्र भक्तपुर र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष पाठकले धन्यवाद ज्ञापन गरे ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष रक्तदान गर्दै आएको र विरामीको लागि अत्यावश्यक पर्ने रगतको मागलाई केही मात्रामा भए पनि पूर्ति गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
संस्थाले रक्तदान गर्न अभिप्रेरित गर्ने उदेश्यका साथ निरन्तर ५ पटक रक्तदान गर्ने सदस्यलाई चाँदीको सिक्का र प्रमाणपत्रले सम्मान गर्दै आएको र १० पटकसम्म रक्तदान गर्ने सदस्यहरुलाई संस्थाले विशेष सम्मान गर्ने गरेको अध्यक्ष पाठकले जानकारी दिए ।
संस्थाले २०६७ सालदेखि निरन्तर सहकारी दिवसको अवसरमा रक्तदान गर्ने गरेको छ । संस्थाले यस बीचमा सयौं सदस्यहरुलाइ स्वस्फूर्त रुपमा रक्तदान गर्न अभिप्रेरित गर्न सफल भएको उनले बताए ।
‘लाखौं पूजा करोडौ दान, त्यो भन्दा पुण्य रक्तदान’ भन्ने नाराका साथ पाँच ताराले रक्तदानलाई विशेष उत्सवका रुपमा लिने गरेको अध्यक्ष पाठकको भनाई छ । उनले भने ‘संस्थाले मानवीय र सामाजिक कार्यको रुपमा लिएर लामोसमय देखि रक्तदान गर्दै आएको हो।
अहिले पनि विरामीले सजिलै रगत पाउन सकिराखेका छैनन्।’ सो अवसरमा ब्लोदानका केन्द्रिय सदस्य जनक खड्का, कास्कूनका सचिव बिरेन्द्र भण्डारी साथै ब्लोदान पूर्बी भेगका अध्यक्ष रवि रिमाल, उपाध्यक्ष माधव खड्का, सचिव संगिता शर्मा र सदस्य तिलक बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । संस्थाले स्थापना दिवसको अवसरमा चैत ३० गतेसम्म विविध कार्यक्रम गर्ने तय गरेको छ ।
Leave a comment