हाइलाइट

सहकारी सञ्चालकहरूको क्षमता वृद्धिमा भक्तपुर जिल्ला बचत संघको जोड

सहकारी सञ्चालकहरूको क्षमता वृद्धिमा भक्तपुर जिल्ला बचत संघको जोड :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत विकास र कानुनी परिपालनालाई सुदृढ बनाउने उद्देश्यका साथ चाँगुनारायण नगरपालिका क्षेत्रका सहकारी संस्थाहरूका लागि आयोजित एक विशेष ुसदस्य सक्षमता तालिमु सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा संघका उपाध्यक्ष जगन्नाथ प्रजापतिले सहकारीको सञ्चालन नीति, विधि र प्रविधि बमोजिम संस्था चलाउन यस्ता तालिमहरू अपरिहार्य रहेको बताए । उनले नव निर्वाचित सञ्चालकहरूका लागि कानुनी व्यवस्थाको स्मरण गराउँदै, सहकारीमा निर्वाचित भएको तीन महिनाभित्र सञ्चालक क्षमता अभिवृद्धि तालिम लिनुपर्ने कानुनी प्रावधान रहेको बताए ।

सोही व्यवस्थालाई मध्यनजर गर्दै संघमा आबद्ध सदस्य संस्थाहरूका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूलाई तालिम दिइएको जानकारी गराए । तालिममा संघका निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीको ऐतिहासिक विकासक्रम, यसका आधारभूत अवधारणा र सात सिद्धान्तहरूको व्यावहारिक प्रयोगबारे जानकारी गराए ।

उनले सहकारीमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उपसमितिहरूको काम, कर्तव्य र अधिकारको स्पष्ट व्याख्या गर्दै जिम्मेवार नेतृत्वको आवश्यकतामा जोड दिए । त्यसैगरी, संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक लेखापरीक्षणको महत्वबारे प्रस्तुतीकरण गरेका थिए ।

उनले आन्तरिक नियन्त्रण प्रणाली र लेखापरीक्षणको फरक बुझ्नु जरुरी रहेको भन्दै संस्थालाई जोखिममुक्त बनाउन प्रभावकारी बैठक प्रणाली र सही निर्णय लेखन कलाले पनि ठूलो भूमिका खेल्ने बताए । चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिकी संयोजक एवं संघकी सञ्चालक चण्डीका छुकांले तालिमले सहकारीलाई विधिपुर्वक र पारदर्शी ढंगले सञ्चालन गर्न थप ऊर्जा प्रदान गर्ने बताइन् ।

तालिममा झझल्को बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिपकुमार केसीले तालिम अत्यन्तै सान्दर्भिक र उपयोगी रहेको बताए । उनले संस्था सञ्चालनमा आइपर्ने व्यावहारिक कठिनाइहरू चिर्न यो तालिमले मद्दत गरेको बताए । तालिममा चाँगुनारायण नगरमा रहेको झझल्को, नौलो, देवी महिला र देवीस्थान जागृति महिलालगायतका सञ्चालक समिति, लेखा समिति र व्यवस्थापक सहित ४३ जनाको सहभागिता रहेको थियो ।



Leave a comment