काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ (डिस्कोफ)ले सहकारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । “उद्यमशिलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित दिवसलाई सहभागीमूलक र प्रभावकारी रूपमा मनाउने तयारी गरिएको संघले जनाएको छ।
६९ औं राष्ट्रिय सहकारी दिवसलाई औपचारिकतामा सीमित नराखी सहकारीका सिद्धान्त, मूल्य र मान्यतालाई व्यवहारमा उतार्ने अवसरका रूपमा कार्यक्रमहरू डिजाइन गरिएको संघले जनाएको छ । उद्यमशिलता प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि, सहकारीबीच समन्वय विस्तार र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखिएको जनाइएको छ।
कार्यक्रम अन्तर्गत चैत्र १६ गते “सहकारीमा महिला उद्यमशिलता विकास” सम्बन्धी एकदिने अन्तरक्रिया आयोजना हुनेछ । कार्यक्रममा महिला सदस्यहरूको उद्यम क्षमता विकास, स्वरोजगार सिर्जना, आयआर्जनका सम्भावना तथा उद्यम सञ्चालनका व्यावहारिक पक्षमा छलफल गरिनेछ ।
साथै, चुनौती, समाधानका उपाय, सहकारीबाट उपलब्ध वित्तीय तथा प्राविधिक सहयोग र सफल अभ्यासहरूबारे अनुभव आदानप्रदान गरिनेछ। त्यसैगरी, चैत्र १८ गते अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आयोजना गरिनेछ । यसले सहकारी संस्थाबीच सम्बन्ध सुदृढ गर्ने, सहकार्यको भावना बढाउने तथा स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।
मुख्य कार्यक्रम चैत्र २० गते सम्पन्न हुनेछ । उक्त दिन बिहान सहकारी आन्दोलनका अग्रज व्यक्तित्वहरूको सम्मानमा तस्बिरमा माल्यार्पण, राष्ट्रिय तथा सहकारी झण्डा फहराउने कार्यक्रम रहनेछ । साथै, संघ परिसरमा वृक्षारोपण, बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रक्तदान कार्यक्रम हुनेछ।
उक्त अवसरमा फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिनेछ । संघले सम्पूर्ण सहकारी संघ–संस्था, अभियन्ता, सदस्य तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै यस्ता कार्यक्रमले सहकारी क्षेत्रको विकास, पारदर्शिता अभिवृद्धि र उद्यमशिलता प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
Leave a comment