काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि फागुन २९ गते संचालन इजाजतपत्र प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम यस संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०५५–०४२४५ रहेको छ । संस्था जिल्ला सहकारी कार्यालय काठमाडौमा दर्ता भएको हो । संस्थाको नेपालभर कार्यक्षेत्र रहेको छ ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न गत मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको थियो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ ।
संचालन अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणकालागि यही चैत १७ गतेसम्म समय थपगरेको छ ।
Leave a comment