काठमाडौं । बनेपाको बुडोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ‘विद्यालयमा बुसा’ कार्यक्रम २ गते धुलिखेलको सञ्जीवनी नमूना माविमा सम्पन्न भएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा (ग्लोबल मनी विक) २०२६ को सन्दर्भमा संस्थाले ‘विद्यालयमा बुसा’ कार्यक्रमलाई निरन्तरता दिएको हो ।
संस्थाले विद्यार्थीलाई वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ । कार्यक्रममा कक्षा ११ मा अध्ययनरत ५१ जना विद्यार्थीका साथै ३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वित्तीय संस्था, वित्तीय बजार, पैसाको महत्व, बजेट निर्माण, बचत तथा ऋणको उपयोगिता, उचित वित्तीय निर्णय, अभिभावकको आर्थिक भारमा सहयोग गर्ने उपाय तथा स्वस्थ खानपान सहितको जीवनशैली सम्बन्धी विषयमा संस्थाका वरिष्ठ अधिकृत उमेश आचार्यले प्रशिक्षण गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य गायत्री खड्का, धुलिखेल सेवाकेन्द्र कार्यालय प्रमुख इन्दिरा कार्की र बरिष्ठ सहायक सागर कुँबरको उपस्थिति रहेको थियो ।
Leave a comment