हाइलाइट

सूर्यविनायक नगरपालिकाका तीनवटा वडामा बचत संघको अभिमूखि तालिम

सूर्यविनायक नगरपालिकाका तीनवटा वडामा बचत संघको अभिमूखि तालिम :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सूर्यविनायक नगरपालिकाका तीनवटा वडामा सदस्यता अभिमुखीकरण कार्यक्रम गरेको छ । संघको सदस्यता उपसमितिको आयोजनामा सूर्यविनायक नगरपालिकाका वडा नं. १,२ र ३ मा रहेका सहकारी संस्थाहरूलाई सदस्यता अभिमुखीकरण कार्यक्रम गरेको हो ।

बालकोटमा रहेको चमेरो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा को संघका सञ्चालक एवं सदस्यता उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुको सभापतित्व रहेको थियो । उनले सहकारी क्षेत्रमा देखा परेका वर्तमान विकृति र विसंगतिहरूलाई निराकरण गर्न समुदायमा आधारित सहकारीहरूको प्रवद्र्धन आवश्यक रहेको बताए ।

“समुदायमा आधारित संस्थाहरूको एकता र सबलीकरणबाट मात्रै सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान सम्भव छ, व्यान्जुले भने । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले जिल्लाको बचत तथा ऋण सहकारी अभियानमा संघले खेलेको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले संघ आर्थिक रूपमा सुदृढ र आत्मनिर्भर रहेको उल्लेख गर्दै आम समुदायले सही सहकारी पहिचान गर्न नसक्दा समस्या परेको र अहिलेको संकटले कुन सहकारी सही र कुन गलत भन्ने प्रष्ट पारेको बताए । धोजुले संघले समुदायमा आधारित संस्थाहरूको दिगो विकासका लागि सुरक्षाको आधारशिला निर्माण गरिरहेको दाबी गरे ।

चमेरो बचत तथा ऋण सहकारीका अध्यक्ष भीमसेन श्रेष्ठले संघमा आबद्ध भएपछि संस्था थप सुरक्षित महसुस भएको बताए । उनले सूर्यविनायक क्षेत्रका अन्य सहकारीहरूलाई पनि संघको छातामुनि आउन आग्रह गरे । कार्यक्रममा संघका उपसमिति सदस्य दिगम्बर श्रेष्ठसहित ११ वटा विभिन्न सहकारीका अध्यक्ष, पदाधिकारी र व्यवस्थापक गरी २३ जनाको सहभागिता रहेको थियो ।



Leave a comment