काठमाडौं । काभ्रेको पनौती ५ चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला गरेको छ । पनौती नगरपालिका बल्थलि स्थित थुम्की रिसोर्टमा सुरु भएको कार्यशाला आज सम्पन्न भएको हो ।
कार्याशालाको नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले सहजीकरण गरेका थिए । कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे प्रकाश पारेकी थिईन ।
कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गरेका थिए । नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशालाले संस्थाको नेतृत्वलाई अझ प्रभावकारी, उत्तरदायी र दूरदर्शी बनाउन आयोजना गरिएको जनाइएको छ।
कार्यशालामा नेतृत्व सीप अभिवृद्धि, संस्थागत सुशासन सुदृढीकरण, निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने उपाय तथा टिमवर्कलाई कसरी बलियो बनाउने भन्ने विषय छलफल भएको प्रमुख कार्यकारी रायमाझीले बताए। त्यसैगरी संस्थाले अघि सारेको रणनीतिक योजनाको समीक्षा गर्दै हालसम्म प्राप्त उपलब्धि, सामना गर्नुपरेका चुनौती र आगामी लक्ष्यका विषयमा पनि विश्लेषण गरिएको छ।
यस प्रकारका कार्यशालाले संस्थाको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि स्पष्ट दिशा तय गर्न, रणनीतिक योजनालाई समयानुकूल परिमार्जन गर्न तथा नेतृत्व तहलाई अझ सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने प्रमुख कार्यकारी रायमाझी बताउँछन् । संस्थाले धुलिखेल र बनेपा सेवाकेन्द्रबाट सदस्यहरुलाई वित्तीयलगायतको सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया