ज्योति मिर्मिरे सामुहिक साकासको वार्षिकोत्सवमा खुल्ला रक्तदान

ज्योति मिर्मिरे सामुहिक साकासको वार्षिकोत्सवमा खुल्ला रक्तदान :: Sahakari Akhabar


काठमाडौं । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २७औँ वार्षिकोत्सव कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको उपलब्धि, वर्तमान अवस्था तथा आगामी योजनाबारे सञ्चालक समितिलगायत सल्लाहकार लेखा तथा विभिन्न उपसमिति र कर्मचारीमाझ प्रस्तुत गरिएको थियो । स्थापना दिवसको अवसरमा संस्थाले  गत शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।  कार्यक्रममा ७० जना सदस्यहरूको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको हालसम्मको प्रगति र आगामी लक्ष्यको बारेमा जानकारी गराएका थिए । उनले सहकारी एकीकरण अभियान सुरु गर्दै ‘सदस्यलाई गर्भदेखि स्वर्गसम्मको सुविधा’ प्रदान गर्ने उद्देश्य लिएको  र  हालसम्म ऋण नतिरेकाका कारण कुनै पनि सदस्यको सम्पत्ति लिलाम गर्नु नपरेको बताए ।

संस्थाले ऋणी सदस्यहरूको ऋण बीमा निःशुल्क गरिदिएको समेत उनले जानकारी दिए । सदस्यको निधन भएमा बाँकी ऋण बीमाबाट असुल हुने व्यवस्था भएकाले खराब कर्जा शून्य रहेको उनले बताए । संस्थामा २१ हजार ४६७ सदस्य र २ हजार १७४ बाल बचतकर्ता आवद्ध छन् ।

संस्थाको शेयर पूँजी १ अर्ब १४ करोड ५२ लाख ९ सय रुपैयाँ, कुल ऋण लगानी १ अर्ब २ करोड ४२ लाख ५२ हजार ९७३ रुपैयाँ र कुल निक्षेप १ अर्ब १४ करोड २९ लाख ५८ हजार ८१० रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै साधारण जगेडा कोष ८ करोड ८५ लाख ३६ हजार ४७२ रुपैयाँ तथा कुल सम्पत्ति १ अर्ब ४१ करोड ९२ लाख ३३ हजार ३५० रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिए ।

८ वटा सेवाकेन्द्र र ४३ जना कर्मचारीमार्फत सेवा दिइरहेको संस्थामा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति रहेको छ । बालबालिका, महिला, युवा तथा जेष्ठ नागरिक लक्षित विविध कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले उद्यमशीलता तालिम, लघुवित्त समूह सशक्तीकरण, स्वास्थ्य परीक्षण, रक्तदानलगायतका कार्यक्रम गर्दैआएको छ । संस्थाले वातावरण सरसफाइ, छात्रवृत्ति वितरण, मृत्युराहत (२५ हजारदेखि १० लाख ५ हजारसम्म), जटिल रोग उपचार सहयोग, दैवीप्रकोप राहत लगायतका सेवा प्रदान गर्दै आएको जनाइएको छ । 
 



Leave a comment