काठमाडौ। जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीले सदस्य संस्थालाई सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता अभिलेखीकरण तालिम दिएको छ । सहकारी ऐनमा भएको व्यवस्था बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता गर्ने प्रयोजनका लागि अभिमुखीकरण तालिम दिएको हो ।
सहकारी ऐन २०७४ संशोधनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा अनिवार्य दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेकोले सङ्घले सदस्य संस्थाहरुलाई दर्ता अभिलेखीकरणका लागि आवश्यक प्रक्रिया सहितको तालिम प्रदान गरेको हो । सङ्घले आफ्नो वार्षिक कार्ययोजनामा व्यवस्था भएको सहकारी व्यवस्थापन तालिम अन्तर्गत दर्ता अभिलेखीकरण तालिम सम्पन्न गरेको जनाएको छ ।
सङ्घका अध्यक्ष गोमाकुमारी गिरी खड्काको अध्यक्षता तथा सल्लाहकार प्रदिप पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा सुनसरी जिल्लाका ४४ वटा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । सङ्घका कार्यक्रम अधिकृत रुद्रप्रसाद सुवेदी र नेफ्स्कून सदस्य सेवा विभागका कार्यक्रम अधिकृत मुकेश दाहालको संयुक्त सहजीकरणमा तालिम भएको थियो ।
सहकारी संस्थाहरुलाई नियामक निकायमा दर्ता गरी कानुन बमोजिम सहकारी व्यवस्थापन तथा सञ्चालनमा महत्वपुर्ण भुमिका खेलेको र आगामी दिनहरुमा समेत प्रविधीमैत्री सिकाई, सदस्य संस्थाहरुको माग र आवश्यकता बमोजिम निरन्तर शिक्षा, तालिम, बहस र पैरवीमा सङ्घ सक्रिय रहने सङ्घका अध्यक्ष खड्काले प्रतिबद्धता जनाईन ।
प्रचलित ऐन र सहकारी मर्म तथा भावना अनुसार सहकारी सञ्चालन तथा व्यवस्थापनमा सङ्घले सदैव आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष खड्काले यस्ता तालिम नियमित रुपमा सञ्चालन गरिने भएकाले सदस्य संस्थाहरुलाई सक्रियताका साथ सहभागिता जनाउन आग्रह समेत गरिन ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल तथा सङ्घका सल्लाहकार मिलिराम चौधरीले सिकाई निरन्तर चलिरहने प्रक्रिया भएकाले समयानुकुल प्रविधिमैत्री शिक्षा तालिममा जोड दिनुपर्ने बताए । तालिम पश्चात पनि संस्थाहरुलाई तोकिएको अवधिभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता हुन सङ्घले आवश्यक सहजीकरण गर्ने स्पष्ट पारेको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरण लागि फागुन ११ गतेसम्मको समय थप गरेपछि संस्थाको माग र आवश्यकता बमोजिम तालिम आयोजना गरिएको सङ्घले जनाएको छ ।
Leave a comment