हाइलाइट

नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति संघको आपत्ति

नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति संघको आपत्ति :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा बहु नियामकबाट जारीहुने बहुनिर्देशनले सहकारी संस्थाहरु अन्यौलमा रहेको भक्तपुर जिल्ला बचत संघका अध्यक्ष हरि बल्लले बताएका छन् । उनले नियामकले नियमन तथा निरिक्षण गर्नु स्वभाविक भएपनि नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति संघको आपत्ति रहेको बताए ।

माघ १७ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अर्धवार्षिक समीक्षामा बोल्दै अध्यक्ष बल्लले सहकारी संस्थाको संचालन गतिविधिलाई ध्यान नै नदिई संघमा रहेको तरलता गणना नहुने, खोलिएका शाखाहरु बन्द गर्नुपर्ने जस्ता निर्देशनले सहकारी संस्थाको संचालन प्रक्रियालाई नै विथोल्ने र कमजोर बनाउने बताए ।

सहकारीलाई एकद्धार प्रणालीबाट मात्र नियमन गर्नु पर्ने भन्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्न बाँकी संघका सदस्य संस्थाहरुलाई समयमै दर्ता हुन अनुरोध गरे । कार्यक्रममा संघका उपाध्यक्ष जगनाथ प्रजापतिले स्वागत मन्तव्य राख्दै संघले आव २०८२।०८३ को बार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयनको समीक्षा गर्न अर्धबार्षिक समीक्षा कार्यक्रम राखिएको जानकारी दिए।

संघका सचिव कान्छाभक्त घजुले अर्धवार्षिक समीक्षामा संघले पुषमसान्तसम्मको कार्यक्रम प्रगति प्रस्तुत गरेका थिए । उनले संघका सदस्य संस्थालाई निरन्तर शिक्षा तथा तालिम अन्तर्गत संस्थाको संस्थागत, संचालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिमलाई जोड दिएको बताए ।

हालसम्म संघमा २०३ सदस्य मध्ये १९५ वटा संस्थाको साधारणसभा भएको र ८ वटा संस्थाको साधारणसभा गर्न बाँकी रहेको जानकारी दिए । संघले हालसम्म गरेको १२ वटा संस्थाको अनुगमन गरेकोे जानकारी गराए । संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अर्धवार्षिक समीक्षामा संघको वासलात ३ अर्ब १० करोड पुगेको जानकारी दिइन ।

सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार संघले कारोबारलाई खुम्चाउनुपर्ने बाध्यात्मक परिस्थिति अनुसार संघले कारोबार घटाउने लक्ष्य राखेको समेत बताइन् । संघको कारोबार पुष मसान्तसम्ममा ३.४१ प्रतिशतले घटाउन सफल भएको र ऋण लगानीको वातावरण नहुँदा संघ संस्थामा अत्याधिक तरलता बढेकोले तरलताको व्यवस्थापनमा सकस परेको बताइन् ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गर्दै बचत तथा ऋण कारोबार गर्ने सहकारी संघहरुलाई सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्न पाउनुपर्ने बताए ।

बचत तथा ऋण सहकारी संघहरुको कारोबारको व्यवस्थापन मापदण्ड ल्याई नियमन गर्नुपर्नेमा निर्मुल गर्ने खालका केही निर्देशनले संघको अस्तित्व माथि नै प्रश्न उठाएको उनको भनाइ थियो । सहकारी ऐन नियम र निर्देशन अनुसार संघको कारोबारलाई व्यवस्थित गर्दै लगेको तर निर्धक्क कारोबार गर्न पाउने वातावरण बन्न नसकेको बताए ।

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले संघको अर्धबार्षिक प्रगति सन्तोषजनक रहेको बताए । संघको अर्धवार्षिक समीक्षामा समिति र उपसमितिहरुबाट ३४ जना र कर्मचारीहरु ९ जनाको सहभागी रहेको थियो ।



Leave a comment