काठमाडौं । महाकाली नगरपालिका ४ दार्चुलामा रहेको श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको छ । यो संस्था जिल्लाकै पहिलो संचालन इजाजतपत्र पाउने सहकारी बनेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि पुष ८ गते इजाजतपत्र प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले संचालन इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६२–००७२७ रहेको छ । सहकारी प्रशिक्षण तथा तथा डिभिजन कार्यालय कैलालीमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र दार्चुला जिल्लाभरी रहेको छ ।
कूल ६ हजार ३०१ जाना सदस्य तथा १ हजार ३७० जना ऋणी सदस्य रहेको संस्थाको २ करोड ८४ लाख ८९ हजार ६ सय रुपैंयाँ सेयर पूँजी रहेको छ । संस्थाको जगेडा कोषमा ९१ लाख ८८ हजार ६९० रुपैंयाँ तथा १ करोड २ लाख ३७ हजार ३८२ रुपैंयाँ अन्य कोषमा रहेको छ ।
२३ करोड ७३ लाख ५१ हजार २३१ रुपैंयाँ बचत रहेको संस्थाले २८ करोड ४४ लाख १५ हजार २५९ रुपैंयाँ ऋण लगानीमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जनाएका छन् । त्यसैगरी संस्थाको ३६ करोड १६ लाख ३८ हजार ३८४ रुपैंयाँ कूल सम्पति रहेको जनाइएको छ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको थियो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ ।
संचालन अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरेको थियो । संस्था अभिलेखिकरणकालागि प्राधिकरणले ६० दिनको समय सिमा तोकेको थियो उक्त समय पुनः थप गरी माघ मसान्तसम्म पुर्याएको छ ।
Leave a comment