बागलुङ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका थप ९ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । लगातार २ वर्ष कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका सहकारीको दर्ता खारेजी गरिएको रजिष्ट्रार कार्यालयले माघ १० गते सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ ।
कार्यालयको माघ ९ गतेको निर्णय अनुसार स्याङ्जाका ४, पर्वतका ४ र नवलपुरको १ गरी ९ वटा सहकारीको दर्ता खारेज गरिएको हो । निष्क्रिय सहकारीहरुलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक गर्न आव्हान गरिएको थियो । अद्यावधिक हुन नआएका मध्ये यसपटक ९ वटा खारेज गरेका छौ, अझै केही सहकारीहरु खारेजीको चरणमा रहेको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए ।
खारेज हुनेमा स्याङ्जाको वालिङ नगरपालिकास्थित टापु भञ्ज्याङ कृषि सहकारी संस्था, सोही पालिकाको कटौजे अदुवा उत्पादक सहकारी संस्था, चापाकोटा गाउँपालिकाको खड्क कालो कृषि सहकारी संस्था, सोही पालिकाको सरोवर कृषि सहकारी संस्था रहेका छन् ।
यस्तै पर्वतको कुश्मा नगरपालिकामा रहेको गहते पखरा दुग्ध उत्पादक सहकारी संस्था, प्रगति कफी सहकारी संस्था, पूृर्णेश्वर कफी सहकारी संस्था, पर्वत आदर्श नमुना कृषि सहकारी संस्था तथा नवलपरासी बसुपूर्व स्थित हुप्सेकोट गाउँपालिकाको भूपूसैनिक सहमकारी संस्था खारेज भएका हुन् ।
बागलुङमा पनि लामो समयदेखि निष्क्रिय रहेका र अद्यावधिकमा नआएका सहकारीहरुलाई खारेज गर्ने तयारी गरिएको रिजालले बताए । निष्क्रिय रहेका सहकारीहरुको दायित्व बाँकी रहेमा सञ्चालकको जिम्मामा रहने गरी खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको उनले जनाए ।
यसका साथै रजिष्ट्रार कार्यालयले हालसम्म ३५ वटा सहकारी संघ संस्थाको खारेजीगरेको छ । खारेज भएका सहकारीमा सबै भन्दा बढी १२ वटा स्याङ्जा, त्यसपछि गोरखाका ६, पर्वतका ५, तनहुँका ४, कास्कीका ३, म्याग्दीका २, लमजुङ, बागलुङ र नवलपुरका एक / एक वटा सहकारी खारेज भएको रजिष्ट्रार रिजालले जानकारी दिए ।
गण्डकी प्रदेश सहकारी ऐनमा भएको व्यवस्था अनुसार लगातार दुइ वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय रहेको पाइएमा दर्ता अधिकारीले सहकारी संस्थाको दर्ता खारेज गर्न सकिनेछ भन्ने व्यवस्था अनुसार अद्यावधिक हुन नआएका, लगातार दुई वर्षसम्म विवरण पेश तथा प्रतिवेदन पेश नगरी निष्क्रिय रहेका सहकारी संस्थाको खारेजी गर्ने प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
रजिष्ट्रार कार्यालयले खारेज भएका सहकारी संस्थाले तिर्न बुझाउन पर्ने कुनै दायित्व रहे, भएमा संस्थाका सञ्चालक लगायत जिम्मेवार पदाधिकारीरव्यक्तिहरुले तिर्न बुझाउन समेत जानकारी गराएको छ। ‘सहकारी संस्थासंग कुनै लिनुदिनु पर्ने दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक, पदाधिकारीसंग सम्पर्क राख्नुहुन सम्बन्धित शेयर सदस्य लगायत सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ’ रजिष्ट्रार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
Leave a comment