काठमाडौं । जनकपुरधाममा रहेको वैष्णवी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था र भावी योजना सम्बन्धी विषयमा छलफल भएको थियो ।
साधारण सभामा समाजसेवी दिनेश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । उनले सहकारीले भोलिकालागि बचत गर्न सिकाउने भन्दै आजको सानोसानो बचत नै भोलिको ठूलो सहारा हुने बताए ।
उनले सहकारीमार्फत सामूहिक भावना, सहकार्य र आपसी विश्वासको विकास हुने उल्लेख गरे । सदस्यहरूले आफ्नो पैसाको उचित व्यवस्थापन गर्न सक्नुपर्ने उनको धारणा थियो ।
सहकारी संस्थाबाट सुलभ र सहज रूपमा ऋण उपलब्ध हुने भएकाले आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मूलुकमा पछिल्लो समय देखिएको आर्थिक संकट र उतार चढावका बाबजुदपनि संस्थाले आफ्ना सदस्यहरूलाई निरन्तर र प्रभावकारी सेवा दिन सफल भएको बताए ।दक्ष व्यवस्थापन र सेवामुखी कार्यशैलीका कारण सदस्य सेवामा कुनै प्रकारको बाधा आउन नदिएको उनले बताए ।
उनले संस्थाले सदस्यहरूलाई प्रभावकारी, गुणस्तरीय सर्वसुलभ तथा वित्तीय गैरवित्तीय सेवा प्रदान गर्न अत्याधुनिक प्रविधिमा आधारित कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ र एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी दिए ।
सभामा संस्थाका पूर्व अध्यक्ष स्व.महेन्द्र मण्डलप्रति श्रद्धासुमन अर्पण गरिएको थियो । सभामा २०८१ साउन १ देखि २०८२ असार ३२ सम्मको आयब्यय विवरण प्रस्तुत गरिएको थियो ।
विवरण अनुसार आर्थिक वर्ष २०८० / ०८१ मा संस्थाले ८९ लाख ६६ हजार ३ रुपैयाँ नाफा आर्जन गरेको थियो भने आर्थिक वर्ष २०८१ / ०८२ मानाफा बढेर २ करोड २२ लाख १४ हजार ११७ रुपैयाँ पुगेको जनाइएको छ ।
संस्थाले जनकपुरधाम स्थित भानु चौकमा, विदेह नगरपालिकाको तिनकौरीमा, धनुषाधाम नगरपालिका ३ स्थित धनुषाधाममा र हंसपुर नगरपालिका ३ को बेल्ही चौकमा गरी चारवटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दैआएको जनाइएको छ ।
सभामा केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघकी उपाध्यक्ष विमला साह, ओम शान्ति साकोसका पूर्व अध्यक्ष रामशंकर पासवान, आस्था साकोस जनकपुरधामका प्रमुख कार्यकारी अधिकृत नवीनकुमार कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका सहसचिव अर्जुन मण्डल लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
सभाले संस्थाको आर्थिक प्रगति, सेवाविस्तार प्रविधिमैत्री व्यवस्थापनप्रति सन्तोष व्यक्तगर्दे आगामीदिनमा सदस्य केन्द्रित सेवा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Leave a comment