काठमाडौं । बागमती प्रदेश सहकारी संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल रहेकी थिइन् ।
संघले साधारण सभाको अवसरमा विभिन्न विधामा संघसंस्था र व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सहकारी अभियान्ता विधामा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल सम्मानित भएका छन् ।
त्यसैगरी प्रदेश उत्कृष्ट संघमा जिल्ला सहकारी संघ काभ्रे, प्रदेश उत्कृष्ट संस्थामा मिलिजुली बचत तथा ऋण सहकारी सिन्धुली र प्रदेश उत्कृष्ट महिला सहकारी संस्थामा सक्रिय महिला बचत तथा ऋण सहकारी मकवानपुर सम्मानित भएका छन् ।
त्यसैगरी प्रदेश उत्कृष्ट संघ व्यवस्थापकतर्फ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईं, प्रदेश उत्कृष्ट संस्था व्यवस्थापकमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ सम्मानित भएका छन् ।

प्रदेश उत्कृट सहकारी पदाधिकारी र सञ्चालकमा मन्थली साकोसका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र सहकारी संचारकर्मी विधामा सहकारी सञ्चार डटकमका प्रधान सम्पादक अर्जुन खतिवडालाई सम्मान गरिएको थियो ।

सभामा शुभकामना मन्तव्य राख्दै उनले सहकारी क्षेत्रको समस्या समाधानमा प्रदेश सरकार गम्भिर रहेको बताइन् । उनले सहकारीको गलत कुराको मात्र प्रचार भइराखको भन्दै सहकारी क्षेत्रमार्फत भएका राम्रा कुराहरुको समेत प्रचार प्रसार गर्न आवश्यक रहेको जनाइन् ।

मन्त्री पौडेलले सहकारीले समाजमा गतल मात्र नगरी समुदायको आर्थिक, सामाजिक रुपान्तरणको साथै नेतृत्व विकासमा समेत महत्वपूर्ण योगदान पुर्याएको बताइन ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेल, संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्व अध्यक्ष केशव बडाल लगायतले शुभकाना मन्तव्य राखेका थिए ।

सभामा बोल्दै उनीहरुले सहकारीका नाम गैर सहकारी व्यक्तिहरुले संस्था सञ्चालन गर्दा यो क्षेत्रमा समस्या आएको बताए । सहकारीमा केही लोभी पापी व्यक्तिहरुको प्रवेश भएको भन्दै सरकारले समयमा त्यसलाई रोक्न नसकेको उनीहरुको जिकिर थियो ।

सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरित सञ्चालित सहकारीलाई सरकारले समयमा कारवाही गर्न नसकेको उनीहरुको आरोप छ । सहकारी दर्ता दिने तर कसरी सञ्चालन भइराखेको छ भनेर नहेर्ने प्रवृतिका कारण यो क्षेत्रमा समस्या आएको वक्ताहरुको भनाई छ । सरकार सहकारीको भावनालाई कुन्ठित गर्ने गरी अगाडि बढेको भन्दै त्यसको विरोध समेत उनीहरुले गरे ।

संघका सचिव देवराज न्यौपानेले सञ्चालन गरेको सभामा वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य, महासचिव नेत्रराज पौडेलले संघको नीति तथा कार्यक्रम, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठले कार्यक्रम तथा बजेट तथा लेखा सुपरीवेक्षण समितिका संयोजक विकल्प पाठकले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघले बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायत विभिन्न संघसंस्था र निकायको सहयोगमा प्रकाशित गरेको ‘बागमती स्मारिका २०८२’ समेत विमोचन गरिएको थियो ।
Leave a comment