काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा.रमेश चौलागाईले संघको वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् । उनले भविष्यमा सहकारीमा समस्या नदोहोरियोस् भन्ने हेतुले सहकारी नियमन प्राधिकरण गठन भएको भन्दै सहकारी संघ र संस्था फरक रहेकोले संघको वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै विज्ञ सदस्य डा.चौलागाइ सहकारी संस्थाको नियमन तथा बर्गिकरण गर्न प्राधिकरणमा दर्ता गर्नुपर्ने बताए ।
उनले भविष्यमा सहकारीको विकृति न्यूनिकरण गरेर जोखिम घटाउनका लागि स्थानिय, प्रदेश र संघीय तहमा दर्ता रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थाहरु प्राधिकरणमा दर्ता गरेर प्रमाणपत्र लिनुपर्ने बताए । उनले सहकारी सदस्यको भएपनि व्यवहारमा सहकारी सदस्यको हुन नसक्दा सहकारीमा समस्या आएको बताए ।
संघले सदस्य संस्थाहरुकालागि मंसिर २३ गते भक्तपुर बैंक्वेटमा उक्त कार्यक्रम गरेको थियो । संघका अध्यक्ष हरिकृष्ण बल्लले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता नभई कर्जा सूचना केन्द्रमा आबद्धता नहुने र सहकारीले राज्यबाट प्राप्त हुने अन्य सुविधाबाट समेत विमुख हुनुपर्ने अवस्था आउन सक्ने भएकोले समयमै प्राधिकरणमा दर्ता हुनुपर्ने बताए ।
उनले प्रारम्भिक संस्थाले संघमा राखेको बचत तरलता गणना नहुने नियकीय मापदण्डले प्रारम्भिक संस्थाहरुको बचत शुन्य प्रतिशतमै बैंक वित्तीय संस्थामा राख्न बाध्य पारेको बताए । सदस्य संस्थाको वित्तीय आवश्यकता पुरा गर्न काुनन बमोजिम संघले वित्तीय कारोबार गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरण अभियानले नै मागेको भन्दै जसले माग्यो उसलाई सिध्याउने गरी संघमा रहेको रकमलाई तरलता गणना नहुने व्यवस्था संशोधन गर्नुपर्ने बताए । प्राधिकरणले संघलाई छुट्टै मापदण्ड बनाई बर्गिकरण गरी सहयोगी निकायको रुपमा जीवन्त राख्नुपर्ने उनको भनाइ थियो ।
संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले स्वागत मन्तव्य राख्दै बहु नियमनकारी निकायको निर्देशन र बहु दर्ता तथा नवीकरण जस्ता कानूनी व्यवस्थाले प्रारम्भिक संस्थाहरुमा अन्यौलता बढेको भन्दै एकद्धार प्रणलीबाट नियमन तथा अनुगमन गर्नुपर्ने बताए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नुपर्ने आवश्यक जानकारी प्रस्तुती गरेका थिए । उनले अभिलेखिकरण गर्दा आवश्यक कागजातहरुका बारेमा जानकारी दिए । प्राधिकरणमा समयमै दर्ता गर्न अनुरोध गर्दै संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न संघ सदैब तयार रहेको उनले बताए । कार्यक्रममा १७२ संस्थाबाट २५३ जनाको सहभागीता रहेको थियो ।
Leave a comment