काठमाडौं । कास्की बचत तथा ऋण सहकारी संघले २५ औँ स्थापना दिवसको अवसरमा आइतबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको थियो ।
संघका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश, सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी संस्था मार्फत हुने सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमले समुदाय लाभान्वित भइरहेको बताए । उनले सहकारी भनेको पैसा लिने र ऋण दिने मात्र कार्य भएको भन्ने बुझाईलाई चिर्न पनि सहकारीको सिद्धान्त अनुरुप समुदाय लक्षित कामहरु गर्नुपर्ने बताए ।
उनले केही सहकारीहरु सदस्य मुखी र सेवामुखी नभई सञ्चालकलाई मात्र फाइदा पुग्नेगरी स्वार्थ बाझिने कार्यमा संलग्न रहेको पाइएको बताए । केही यस्ता सहकारीले गर्दा सहकारी क्षेत्रको छवि धुमिल भएको भन्दै सरकारसँगै सहकारी अभियान मिलेर सहकारीलाई व्यवस्थित र सुदृढ बनाई लैजानुको विकल्प नभएको बताए ।
नेफ्स्कून सञ्चालक कमला गिरीले सहकारी नियमन प्राधिकरण मार्फत सहकारी संस्थाहरुको नियमन प्रक्रिया र कर्जा सूचना केन्द्रमा दर्ता प्रक्रिया अगाडी बढ्नु स्वागत योग्य रहेको बताइन । केही सहकारी संस्थाका अनैतिक क्रियाकलापले असल अभ्यासमा रहेका सहकारीलाई पनि एउटै डालोमा हालेर सहकारीलाई सिमित घेरामा राख्न खोजेको हो कि भन्ने शंका उत्पन्न भएको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष सावित्री कोइराला, हितैषी सहकारीका अध्यक्ष मदनप्रसाद आचार्य, शिवालय टोल विकास संस्थाका अध्यक्ष मिना ढकाल, शिवालय आमा समूहका अध्यक्ष कल्पना सिग्देलले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment