काठमाडौं । काभ्रेको बनेपामा रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा १९७ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले जेष्ठ सदस्य सम्मान तथा रक्तदान कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । संस्थाले २०७४ सालदेखि ७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको संस्थाका मुख्य प्रबन्धक सुवाष वैद्यले जानकारी दिए ।
बनेपा मुख्य कार्यालयबाट १ सय ८० जना, पनौती सेवाकेन्द्रबाट १२ र भकुण्डे सेवा केन्द्रबाट ५ जना गरी १ सय ९७ जनालाई सम्मान गरिएको जनाएको छ । संस्थाका अध्यक्ष ग्रोबेन तौजलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरुलाई हिटर उपहार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले जन्मदिने आमाबुबालाई खुशी राख्नसके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताए ।
उनले सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दिनेदेखि अन्य सुविधाहरु दिइरहेको अवस्थाका बीच आभाष सहकारीले आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गरे ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा लगायतले ज्येष्ठ नागरिकहरु परम्परा, चालचलन र सांस्कृतिका वाहक भएकोले संस्थाले सम्मान गरेकोमा प्रशंसा गरे ।
संस्थाले स्थापना दिवसको अववसरमा आयोजित रक्तदान कार्यक्रममा सदस्य, कर्मचारी सञ्चालक र स्थानीयले रक्तदान गरेका छन् । संस्थाले विरामीको उपचारका लागि आवश्यक पर्ने रगतको मागलाई केही मात्रामा पुरागर्ने उद्देश्यले रक्तदान आयोजना गरेको जनाएको छ।
Leave a comment