काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य सुद्धिकरण अभियान थालेको छ । संघले यो वर्ष ५८ वटा निस्कृय संस्थाको सदस्यता खारेज गरेको हो ।
संघको बार्षिक साधारण सभामा नियमित तीन पटकसम्म अनुपस्थित हुने संस्थाको सदस्यता खारेज गरिएको जनाएको छ । संघले मंगलबार ३१ औं बार्षिक साधारण सभा गरेको छ।
संघमा हाल ४८१ संस्था सदस्य रहेकोमा ५८ वटा संस्थाको सदस्यता खारेजी प्रकृयामा गएको संघका अध्यक्ष रामहरी बजगाईले जानकारी दिए ।
उनले प्रतिवेदन प्रस्तुत गर्दै संघले यो वर्ष सदस्य संस्थाहरुलाई ७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पेस गरेका थिए । अध्यक्ष बजगाईको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि संघकी संस्थापक अध्यक्ष रोहिणी जोशी रहेकी थिइन्।
अध्यक्ष बजगाईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘सम्मृद्ध साकोस दिगो संघ’ को परिकल्पना लिएर अगाडि बढेको र संघमा आवद्ध संस्थाहरुको क्षमता विकास र वित्तीय पहुँचका लागि निरन्तर काम गर्दै आएको बताए ।
उनले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको विकास र प्रवद्र्धनमा स्थापनाकालदेखि नै संघले महतवपूर्ण भूमिका खेल्दै आएको बताए ।
संघले शिक्षा, तालिम, गोष्ठी, स्तरीकरण कार्यक्रम, अन्तरलगानी लगायतका माध्यमबाट संस्थाहरुलाई सबल र दिगो बनाउनका लागि काम गर्दै आएको जनाए ।
पछिल्लो समय केहि सहकारी संस्थाको गलत अभ्यासका कारण सहकारीप्रति आम सदस्यको विश्वास घटेको भन्दै उनले त्यसलाई चिर्नु अहिलेको चुनौती रहेको उल्लेख गरे ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सम्बन्धित निकायहरुबाट प्रभावकारी नियमनलाई अगाडि बढाउन उनको माग छ । संस्थाहरुको कारोबार र गुणस्तरको आधारमा बर्गीकरण गर्ने व्यवस्था हुनसके समुदाय र सदस्य केन्द्रीत सहकारीहरुप्रति सदस्यको विश्वास बढ्नुका साथै राज्यबाट पाउने सुविधा समेत बढेर जाने उनको भनाइ थियो।
जिल्लाको दुर्गम तथा वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय पुहँच पुर्याउन सहकारीको प्रवद्र्धन गरिने उनले सभामा जानकारी दिए । यस आर्थिक बर्षमा लेखा सुपरिवेक्षण समितिको गोष्ठी र ललितपुर साकोस समिट गरिने उनले जनाए ।
महिलाहरुद्वारा सञ्चालित सहकारी संस्थालाई उद्यमशिलता विकासका लागि १० लाखसम्म बिनाधितो ऋण दिइने उनले सभालाई जानकारी दिए ।
सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सानुकाजी महर्जनले प्रतिवेदन प्रस्तुत गर्दै प्रति सदस्य प्राथमिक पुँजी कोषको १५ प्रतिशतको सीमाभित्र रही ऋण लगानी गर्न सुझाए ।
सभामा कोषाध्यक्ष वसन्त मालीले आर्थिक बर्ष २०८१ / ०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी ७ करोड २० लाख ७८ हजार, जगेडा तथा अन्य कोष ९ करोड ६७ लाख ३० हजार, बचत संकलन १ अर्ब ४३ करोड ६५ लाख र ऋण लगानी ९६ करोड ११ लाख पुगेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले सभामा स्वागत मन्तव्य राखेका थिए भने सचिव श्यामकृष्ण महर्जनले सभा सञ्चालन गरेका थिए ।
विभिन्न विधामा सम्मान प्रदान
संघले ३१ औं साधारण सभाको अवसरमा विभिन्न विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । संघले ललितपुर महानगरपालिका सहकारी शाखाका रही सेवा निवृत भएका चिरञ्जिवी पौडेल, पूर्व सञ्चालकतर्फ युवराज शाक्य र सहकारी पत्रकारिता पुरस्कार नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठलाई प्रदान गरेको छ ।
त्यसैगरी क्षेत्रगत रुपमा महानगरपालिका भित्रबाट पद्मावती बचत तथा ऋण सहकारी संस्था, गोदावरी नगरपालिकाबाट नवदुर्गा बचत तथा ऋण सहकारी संस्था र महालक्ष्मी नगरपालिकाबाट ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ ।
उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट बेथेल बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएको छ । त्यसैगरी संघको कर्मचारी मध्येबाट सहायक ब्यवस्थापक भिमबहादुर खड्का पुरस्कृत भएका छन् । सम्मानित व्यक्ति तथा संस्थालाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
Leave a comment