लामोसाँघु साकोसका सदस्यलाई १० प्रतिशत नगद लाभांश 

लामोसाँघु साकोसका सदस्यलाई १० प्रतिशत नगद लाभांश  :: Sahakari Akhabar

काठमाडौं । बलेफी गाउँपालिका–८ सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको प्रतिफल बचत खातामा नै लाभांश जम्मा गरेको छ ।

संस्थाको १६ औं बार्षिक साधारण सभाबाट पारित भएको आर्थिक बर्ष २०८१ / ८२ को नगद लाभांश सेयर सदस्यहरुकै खातामा जम्मा गरेको संस्थाले जनाएको छ । संस्थाले गत आर्थिक बर्षको खुद बचतबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभाले पारित गरेको थियो ।

संस्थाले सदस्यहरुको सहजतालाई ध्यानमा राखेर क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरेको थियो । सदस्यहरुले दिएको सल्लाह सुझावालाई आधार बनाई यस आर्थिक बर्षको नीति तथा कार्यक्रम तयार गरी प्रमाणीकरण सभाबाट पारित गरेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष पूर्णचन्द्र ढकालले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै करिव ४ हजार सदस्यको मन जित्न सफल भएका् बताए ।

उनले सदस्यहरुलाई बचत ऋणका साथै सामाजिक संस्कार खर्च, विपत राहत खर्च, सुत्केरी शिशु स्याहार खर्च र सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताए ।

त्यसका साथै सदस्यहरुलाई सहकारीको महत्वको बारेमा जानकारी दिने उदेश्यले सदस्य अभिमुखिकरण जस्ता कार्यक्रम समेत आयोजना गरी सदस्यहरुलाई प्रशिक्षित गर्ने गरेको उनको भनाई छ ।

संस्थाले सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी वित्तीय सेवा प्रदान गर्ने उदेश्यले मोबाइल बैकिङ्ग,फन्ड ट्रान्सफर जस्ता सेवा समेत दिँदै आएको उनको भनाई छ ।

सञ्चालक र कर्मचारीको क्षमता विकास गर्ने उदेश्यले सहकारीका संघहरुले आयोजना गर्ने विभिन्न तालिमहरुमा संस्थाबाट सहभागी भई सीप विकासको कार्य पनि संस्था अगाडि रहेको उनले जानकारी दिए । संस्थाले ४ बर्षे रणनीतिक योजना तयार गरी अगाडि बढेको र संस्थागत लक्ष्य प्राप्तिमा संस्था लागि परेको उनको भनाई छ ।

आर्थिक वर्ष २०८१ / ८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी १ करोड ३२ लाख, संस्थागत पुँजी १ करोड ३९ लाख, बचत संकलन १७ करोड ३४ लाख ७९ हजार र ऋण लगानी १५ करोड ३९ लाख ऋण लगानी पुगेको अध्यक्ष ढकालले बताए ।

संस्थाले गत आवमा कुल सम्पत्तिमा २६.२९ प्रतिशतले वृद्धि गरी २१ करोड ५७ लाख पुर्याउन सफल भएको उनले जनाए । ऋणको समितिको तर्फबाट संयोजक कृष्ण बहादुर पराजुलीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उत्पादनमुलक तर्फ कृषि तथा पशुपालन, समुहगत, वैदेशिक रोजगार, लघु उद्यम, औद्योगिक, लघुवित्त, व्यवसायिक र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको जनाए ।

त्यसैगरी अनुत्पादक क्षेत्र जस्तै आवास, घरजग्गा खरिद, खरखाँचो, हायर पर्चेज, कर्मचारी ऋण, आवधिक, सक्रिय र आकस्मिक ऋण शीर्षकमा लगानी गर्दै आएको उनले जानकारी दिए ।

लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संयोजक सरला सुवेदीले ऋण लगानी पूर्व सदस्यहरुलाई अधिकतम परामर्श दिन र भाखा नाघेको ऋणलाई न्युनिकरण गर्न सुझाइन ।

त्यसका साथै युवा सदस्यहरुलाई लक्षित गरी संस्थाको बारेमा जानकारी दिन र संस्थाले सञ्चालनमा ल्याएको प्रविधिहरुको बारेमा समेत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रमहरुलाई अगाडि बढाउन सुझाव दिइन ।



Leave a comment