राष्ट्रसेवक साकोसको शेयर पूँजी ७ करोड २३ लाख नाघ्यो

राष्ट्रसेवक साकोसको शेयर पूँजी ७ करोड २३ लाख नाघ्यो :: Sahakari Akhabar

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ७ करोड २३ लाख ९१ हजार ९ सय रुपैया पुगेको छ ।

सहकारीको शनिबार विराटनगरमा सम्पन्न २७ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७९ / ८० मा सहकारीको शेयर पूँजी ६ करोड १७ लाख ८६ हजार ३ सय रुपैया थियो भने आर्थिक बर्ष २०८०÷०८१ मा ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैया रहेको थियो ।

सहकारीका अध्यक्ष जीवन काफ्लेले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीको कूल सम्पति दायित्व ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैँया १९ पैसा रहेको छ ।

सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०८ रुपैया ७३ पैसा रहेको छ भने ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैया रहेको छ । सहकारीको कोष हिसाब ४  करोड ९९ लाख ७२ हजार४३ रुपैया ३१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीले ५ करोड १४ लाख ३५ हजार ५६९ रुपैया ४६ पैसा कुल आम्दानी गरेकोमा ४ करोड ९२ लाख २३ हजार ९६७ रुपैया ७६ पैसा खर्च गरेको छ ।

सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा निजामती कर्मचारी संगठनकी केन्द्रिय अध्यक्ष भवानी दाहालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा सहकारीले विभिन्न विधामा सम्मान समेत गरेको छ।

सहकारीले ७५ बर्षमाथिका जेष्ठ सदस्य तथा कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ।

त्यस्तै साधारण सभाको अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी संगठनकी पूर्व केन्द्रिय उपाध्यक्ष इन्दिरा रिजाललाई सम्मान गरिएको छ । नगद १५ हजार सहित रिजाललाई सम्मान गरिएको हो ।

त्यसैगरी दधिराम दाहाल स्मृति पुरस्कारबाट निजामती क्षेत्रमा लामो समय योगदान दिएका भवनाथ पौडेललाई सम्मान गरिएको छ भने हिरणकुमार थापा स्मृति पुरस्कारबाट पत्रकार सुमन सुस्केरालाई सम्मान गरिएको छ ।

सहकारीले विभिन्न विधाका १८ वटा अक्षयकोष सञ्चालन गरेको सहकारीका सचिव ओम सुवेदीले जानकारी दिए । सहकारीले सदस्य केन्द्रित रहेर सहकारी गतिविधि सञ्चालन गरेको उनले बताए ।

साधारण सभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखा सुपरिर्वेक्षण प्रतिवेदन पारित गरेको छ ।



Leave a comment