प्रहरी चौकी पुनःस्थापनाका लागि सहयोग गर्न काभ्रेका सहकारीहरुलाई अपिल

प्रहरी चौकी पुनःस्थापनाका लागि सहयोग गर्न काभ्रेका सहकारीहरुलाई अपिल :: Sahakari Akhabar

काठमाडौं । काभ्रे जिल्लामा रहेका सहकारी संघ संस्थाहरुलाई प्रहरी चौकी पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जिल्लाभर रहेका प्रहरी चौकी ध्वस्त भएकाले त्यसको पुनःस्थापनाको लागि आर्थिक सहयोग गर्न काभ्रेका सहकारीहरुलाई अपिल गरिएको हो ।

जिल्ला सहकारी संघ, जिल्ला बचत संघ र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले संयुक्त विज्ञप्ती जारी गरि जिल्लाका प्रहरी चौकी पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न आग्रह गरिएको छ ‘जनताको जीउ धनको सुरक्षा गर्ने निकाय माथि भएको तोडफोड तथा आगजनीले समग्र सुरक्षा निकायको मनोबलमा ह्रास आएकाले सुरक्षाकर्मीको मनोबल उच्च बनाई समाजमा शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाउन सबै तह तप्काबाट सहयोग जुटाई स्रोत साधान सम्पन्न सुरक्षा निकाय पूनस्र्थापना गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक उत्तरदायित्व अन्तर्गत समग्र सहकारी अभियानको तर्फबाट आर्थिक सहयोग गर्न आग्रह गरिएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा जिल्ला सहकारी संघ, जिल्ला बचत संघ र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको त्रिपक्षीय समन्वयमा जिल्ला सहकारी संघ काभ्रेको समन्वयमा राहत कोष स्थापना गरिएको उल्लेख छ । उक्त राहत कोषमा सहकारी संस्थाहरुलाई सक्दो आर्थिक सहयोग गर्न भनिएको छ । जिल्ला सहकारी संघ अध्यक्ष अमन पोटे, जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहलको हस्ताक्षर रहेको विज्ञप्तीमा ईच्छुक ब्यक्तिहरुलाई समेत आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।



Leave a comment