काठमाडौं । तिलोत्तमा १५, कोटिहवा रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र स्तरीय २० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका १० वटा सेवा केन्द्रमा शनिबार नै साधारण सभा सम्पन्न गरेको हो ।
एकै दिन १० वटै सेवाकेन्द्रमा उही नीति, प्रक्रिया, व्यवस्थापनमा एकरुपताको साथ सभा सम्पन्न भएको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिएका छन् । ३१ जनाले एकएक सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था दर्ता भएको थियो ।
हालसम्म जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस एकीकरण भएको छ । हाल संस्थामा ३९ हजार २ सय ३७ सदस्य तथा ४ अर्ब ४४ करोड पुँजी संकलन गर्न सफल भएको अध्यक्ष पुनले बताए ।
साधारण सभाले सदस्यलाई १० प्रतिशत शेयर लाभांश तथा १ करोड ५९ लाख रुपैयाँ संरक्षित पुँजीकोष नियमानुसार ऋण तथा बचतको कारोबारको आधारमा सबै सदस्यको खाता जम्मा भैसकेको समेत संस्थाका व्यवस्थापक रनबहादुर थापाले जानकारी दिए ।
हर्जाना तिरेका ऋणी सदस्यहरुले कारोबारको आधारमा पाउने संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त नगरेको उनले बताए । सदस्यहरुले संरक्षित पुँजीकोष बचत तथा ऋण कारोबारको आधारमा अधिकतम् ३० हजारसम्म रहम पाएको उनले बताए ।
४० हजार सदस्य रहेको जनउत्थान सहकारीले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउन सफल भएको छ । संस्था एशियन कन्फेडेरेसन अफ क्रेडिट युनियन्स (अक्कु) बाट नेपालकै एक मात्र सहकारीका रूपमा “सिल्भर ब्राण्ड” प्राप्त गर्न सफल भएको छ ।
Leave a comment