हाइलाइट

शुभकामना साकोसको २५ औं बार्षिक साधारण सभामा सदस्यलाई सम्मान

शुभकामना साकोसको २५ औं बार्षिक साधारण सभामा सदस्यलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा विभिन्न विधामा सदस्यलाई सम्मान समेत गरेको छ । संस्थाले कक्षा ८, एसईई, पल्स टु र स्नात्तकोतरसम्म अध्ययन गर्ने विधार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट बचतकर्ता असल ऋणी र जेष्ठ सदस्यलाई समेत सम्मान तथा पोषिलो खानेकुरा प्रदान गरेको थियो ।

सभामा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले मुलुकमा आएको आर्थिक मन्दी र केहि सहकारी संस्थाले सदस्यको बचत फिर्ता नगर्दा समाजमा सहकारीप्रति गलत दृष्टिकोण बनेको बताए ।

उनले यस्तो अवस्थामा समेत शुभकामनाले समाजमा छुट्टै पहिचान बनाई सदस्यहरुलाई सेवा प्रदान गदै आएको बताए । सदस्यहरुको विश्वास, सञ्चालक समिति, विभिन्न उप समिति र कर्मचारीहरुको सक्रिय भूमिकाका कारण संस्था उत्कृष्ट बन्न सफल भएको उनको भनाइ छ।

‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूति गराउँदै सदस्य केन्द्रीत विभिन्न कार्यक्रम गर्दै आएको उनले सभामा जानकारी दिए ।

सदस्यहरुलाई सहकारीको महत्वको बारेमा जानकारी दिने उदेश्यले वित्तीय साक्षरताको कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको र वित्तीय साक्षरतामार्फत् संस्थाको सेवाको बारेमा जानकारी दिँदै आएको उनले बताए ।

आर्थिक मन्दीले ऋण लगानी र असुलीमा समेत समस्या भइराखेको अवस्थामा गत बर्षको खुद बचतबाट सदस्यलाई ९ प्रतिशत लाभांश दिन सक्नु संस्थाको सफलता भएको उनको भनाई छ ।

संस्थाका सचिव पुष्पलाल तिमिलाले आर्थिक बर्ष २०८१ / ८२ को बार्षिक प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाले गत आवमा घरदैलो कार्यक्रम, शिक्षा शिविर, बालबालिका तथा अभिभावकको मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम, बाँसुरी बाजा प्रशिक्षण, रक्तदान जस्ता थुप्रै कार्यक्रम गरेको सभामा उनले जानकारी दिए ।

सभामा कोषाध्यक्ष धर्मरत्न शाक्यले आर्थिक बर्ष ०८१ / ८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ११ लाख ६१  हजार, जगेडा तथा अन्य कोष १९ करोड २५ लाख, बचत संकलन १ अर्ब ४० करोड ९८ लाख तथा ऋण लगानी १ अर्ब ५ करोड ८९ लाख पुगेको जानकारी गराए ।

गत आवमा संस्थाको कुल सम्पत्ति १७.२९ प्रतिशतले वृद्धि भई १ अर्ब ८१ करोड ४५ लाख पुगेको उनले सभामा जानकारी दिए । संस्थामा ११ हजार सदस्य आवद्ध रहेका छन् ।

संस्थाले २०६५ सालदेखि सदस्यको हितलाई ध्यानमा राखी मृतक राहत कार्यक्रम समेत सञ्चालन गरेको उनले जनाए । संस्थाले उमेर समुह अनुसार सदस्यहरुलाई लक्षित गरी १८ वटा बचतको प्रकार सञ्चालनमा ल्याएको छ भने व्यापारिक, आवास, शैक्षिक, कृषि, हायर पर्चेच, घर जग्गा खरिद, लघु र व्यवसायिक कर्जा लगानी गर्दै आएको छ ।



Leave a comment