काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा न. ६ मा रहेको श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशको एकिकरणमा उत्कृष्ट घोषणा भएको छ । संस्थालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले छैटौं स्थापना दिवसको अवसरमा प्रदेशभरिको एकिकरणमा उत्कृट सहकारी संस्था रुपमा सम्मानित गर्ने घोषणा गरेको हो ।
प्रोस्कूनले गत मंगलबार १४ वटा विधामा व्यक्ति तथा संस्थालाई सम्मान एंव पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । जसमध्ये श्री बज्रवाराही साकोसलाई उत्कृष्ट संस्थाको रुपमा सम्मानित घोषणा गरेको हो । प्रोस्कूनले घोषणा गरेको उक्त सम्मान मंसिरमा हुने साधारण सभामा प्रदान गरिने जनाएको छ ।
संस्थाले थाहा न.पा. १० मा रहेको उत्पीडित बचत तथा ऋण सहकारी संस्थालाई एकीकरण गरेको थियो । संस्थाको गत असार मसान्तसम्म संस्थामा २ हजार ३८४ सदस्य आवद्ध रहेका छन् भने १७ करोड ३६ लाख बचत संकलन गरी २२ करोड ५ लाख ऋण लगानी गरेको छ ।
संस्थाको शेयर पुँजी २ करोड ९ लाख २६ हजार, जगेडा कोष १ करोड ६० लाख ८९ हजार तथा अन्य कोषमा ८७ लाख १३ हजार रहेको जनाइएको छ । संस्थाको संस्थागत पुँजी १ करोड ७३ लाख ७७ हजार तथा २६ करोड ७७ लाख ५२ हजार कुल सम्पत्ति रहेको छ । संस्थाले मुख्य कार्यालय सहित विसिंखेल सदस्य सेवा केन्द्रबाट समेत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्था सञ्चालक समितिबाट जनही पाँच हजार र १९ जना संस्थापक सदस्यबाट २ हजारको दरले गरी कुल ८३ हजार रकमबाट संस्था सुरु भएको संस्थाका व्यवस्थापक रञ्जित अर्याल बताउँछन् । संस्था सुरु गर्दा बज्रबाराहीमा वित्तीय कारोबार गर्ने कुनै पनि वित्तीय संस्था नभएको भन्दै उनले बचत ऋणको कारोबार गर्ने समुदायको पहिलो संस्था भएको उल्लेख बताए ।
संस्थाले सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्न मोबाइल बैकिङ्ग सञ्चालनमा ल्याएको र त्यस मार्फत बचत राख्न र झिक्न सकिने उनले जानकारी दिए । संस्थाले सदस्यहरुमा बचत गर्ने वानीको विकास गर्नुका साथै उद्यमशीलता विकासमा समेत सहयोग गर्दै बताए । थाहा नगरपालिका कृषि र पशुपालनका लागि पकेट क्षेत्र भएकाले संस्थामा आवद्ध सदस्यहरुले कृषि कर्म मार्फत् राम्रो आम्दानी गर्न सकेको उनको भनाइ छ ।
Leave a comment