काठमाडौं । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीका नियामकहरुको निर्देशन र मापदण्डमा एकरुपता हुनुपर्ने बताएका छन् । उनले सहकारीका नियमक निकाय धेरै भएको र त्यस्ता निर्देशनहरु पनि फरक फरक आउनाले सहकारीमा अन्यौलता भएको बताएका छन् ।
संघको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष लाखाजुले यस बर्ष सहकारीमा देखिएको विकृतीलाई नियन्त्रण गर्न नेपाल राष्ट बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागले छुटाछुट्टै निर्देशन तथा मापदण्ड जारी गरेको बताए ।
उनले निर्देशन र माफदण्ड जारी गरेर मात्र नियमकीय दायित्व पूरा नहुने भन्दै नियमकीय निकायहरुले निर्देशन तथा मापदण्डमा एकरुपता ल्याई कार्यान्वयन कार्यान्वयन पनि गर्नुपर्ने बताए । जारी निर्देशन तथा मापदण्डले अन्यौलता थप गर्ने भन्दा पनि स्पष्टता हुनुपर्ने उनको भनाइ थियो ।
उनले सहकारी निर्देशन तथा मापदण्डको व्याख्या गर्नुले सहकारीमा कार्यगत एकतामा समेत समस्या हुने भएकोले ऐनसंग भएका व्यवस्थालाई बढावा दिने गरी सहकारी मापदण्ड तथा निर्देशन जारी हुनुपर्ने बताए । कार्यक्रममा संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संघको आव २०८१।०८२ को असार मसान्तसम्ममा ३ अर्ब १९ करोडको वासलात बनाउन सफल भएको जानकारी दिए ।
संघले यस बर्ष लेखापरिक्षण हुनपूर्व ३ करोड १२ लाख बचत (नाफा) गर्न सकेको आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका लेखा सुपरिक्षण संयोजक बालमुकुण्ड उपाध्यायले सहकारीमा बाहिरी प्रभाव धेरै भएकोले वित्तीय व्यवस्थापन गर्न सकस हुनुको साथै कानुनी बहस पैरवीमा निरन्तर गरिरहनुपर्ने बताए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघले सदस्य र संघको हितमा ऐन, निर्देशन र मापदण्ड जारी गराउन, संशोधन गराउनमा खेलेको भुमिका विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले ऐन कानुनसम्मत मापदण्ड तथा निर्देशनहरुको पालना गरी सहकारी संचालनमा नै सहकारीको दिगोपना रहेको बताए । उनले ऐनमा भएको व्यवस्थालाई संकुचित पार्ने गरी जारी निर्देशन र मापदण्ड समय अनुसार परिमार्जित हुने बताए । कार्यक्रममा समिति, उपसमिति र कर्मचारी सहित ४० जनाको सहभागिता रहेको थियो ।
Leave a comment