हाइलाइट

प्राधिकरणले जारी गरेको मापदण्ड अभियानको हितमा छैन

प्राधिकरणले जारी गरेको मापदण्ड अभियानको हितमा छैन :: Sahakari Akhabar

विराटनगर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड र यसको कार्यान्वयन÷प्रभाव विषयक दुई दिने कार्यशाला विराटनगरमा आयोजना गरिएको छ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था सहकारी अध्ययन तथा सूचना केन्द्र विराटनगरको आयोजनामा शुक्रबार र शनिबार भएको कार्यशालामा सहभागीहरुले मापदण्ड सहकारी अभियानको हितमा नरहेको बताएका हुन् ।

व्यवस्थापनको कार्यअवधिको समय तोकेकोप्रति धेरैले आपत्ति जनाउँदै सुधार गर्न सरोकारवाहरुलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा राष्ट्रसेवक सहकारीका अध्यक्ष जीवन काफ्लेले प्राधिकरणले जारी गरेको मापदण्डको विषयमा सहकारीकर्मीहरुलाई जानकारी गराएका थिए । 

राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले नियमन निकाय क्रियाशिल हुनुपर्ने बताउँदै क्रियाशिलताका नाममा सहकारी अभियानलाई नै असर गर्ने खालको काम गर्न नहुने बताए ।  उनले सहकारी अभियानलाई अगाडि बढ्न नदिने नियम कानुन नचाहिने बताए । प्राधिकरणले निर्देशन गरेको मापदण्ड मान्नुपर्ने अवस्था भएपनि केही मापदण्ड सशोधन गर्न सुझाव दिएको उपाध्यक्ष पोखरेलले जानकारी दिए । उनले १९ वटा बुँदा संशोधन गर्न सुझाव दिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डेले स्वनीयममा चल्नुपर्ने सहकारी संस्थालाई नियम कानुनमा बाध्नुपर्ने अवस्था आउनु दुखद् रहेको बताए । उनले सहकारी सुधारको लागि प्रदेश सरकारले पनि कदम चालेको बताउँदै मन्त्रालयले केही नयाँ काम गरिरहेको बताए ।

सहकारीहरुले अनुत्पादन क्षेत्रमा सहकारीको पैसा खर्च गरेर सदस्यको पैसा हिनामिना गरेको बताउँदै उनले कतिपय सहकारीले नियमन निकायले भनेको पनि नमानिरहेको बताए । उनले भने, ‘कतिपय सहकारीलाई हामीले चिठ्ठी पठाएका छौं, तर, प्रतिक्रिया आएको छैन् । अटेर गर्ने सहकारीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्छौं ।’

कार्यक्रममा विराटनगर महानगरपालिका सहकारी शाखा प्रमुख चाँदनी राई, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल  लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सञ्चालित विभिन्न सहकारीका पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापकहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम शनिबार सम्पन्न भएको हो ।



Leave a comment