हाइलाइट

किसान साकोसको दोश्रो पूर्ण सदस्य वडा घोषणा

किसान साकोसको दोश्रो पूर्ण सदस्य वडा घोषणा :: Sahakari Akhabar

काठमाडौं । वर्दघाट सुस्ता पूर्वको गैंडाकोट नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मध्यविन्दु नगरपालिका वडा नं.१० लाई पूर्ण सदस्य वडा घोषणा गरेको छ । संस्थाले उक्त वडाका ९६ प्रतिशत भन्दा बढी घरधुरी समेटेकोमा पूर्ण किसान सदस्य वडा घोषणा गरेको हो । संस्थाले एक कार्यक्रम गरी उक्त वडालाई पूर्ण किसान सदस्य वडा गरेको जनाएको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० चैत्र २० गते नेपालमै पहिलो पटक ‘पूर्ण सदस्य वडा घोषणा’ को अभियान सुरु गरेको संस्थाको यो दोस्रो वडालाई समेत पूर्ण सदस्य वडा घोषणा गरेको छ । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले सो नगरपालिकाको वडा नं.१० लाई पूर्ण किसान सदस्य वडा घोषणा गरेका थिए ।

प्रमुख अतिथि अधिकारीले सहकारी संस्थाहरु बचत संकलन र ऋण लगानीमा मात्र अल्झिने नभई जीवन जीउने तरिका बदल्न समेत सिकाउनु पर्ने बताए । समग्र मुलुकको एक तिहाई भन्दा बढी जनसंख्या आबद्ध रहेको सहकारी क्षेत्रले समाजमा रहेका विभिन्न खाले अराजकताहरुलाई चिर्दै सभ्य समाज निर्माणमा योगदान दिनु पर्ने उनको भनाइ थियो ।

वडा नं. १० का वडाध्यक्ष रणबहादुर थापाले वडा नं.१० का कुल १५५६ घरधुरी मध्ये १४९६ घरधुरीबाट संस्थामा सदस्य आबद्ध भएको घोषणा गरे । वडाध्यक्ष थापाले सहकारीले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अरुणखोला सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक विन्दुकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाले सदस्य केन्द्रित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेकोले सदस्यहरुको आकर्षण र विश्वास बढ्दै गएको बताए ।

कार्यक्रममा संस्थाको विकासक्रम र वर्तमान अवस्थाका साथै संस्थाका सेवाहरुको बारेमा जानकारी गराउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सीनाले नगरपालिकाले स्थानीय उत्पादन र उद्यमहरुमा प्राथमिकता तोकेमा संस्थाले समेत सोही प्राथमिकतामा उत्पादनमुलक क्षेत्रको प्रवद्र्धन गर्ने बताए । उनले भने, “वास्तविक उद्यम र रोजगारी सिर्जनामा लाग्ने सदस्यहरुलाई प्रोत्साहन गर्न संस्थाले सहुलियतपूर्ण ब्याजदरमा ऋण सेवा सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघका अध्यक्ष तिलक पराजुली, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ लगायत स्थानीय संघ संस्थाका अध्यक्ष एवम् जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव सरस्वती कण्डेलले सञ्चालन गरेको कार्यक्रममा संस्था सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर (भीआईए), स्तन क्यान्सर र मुख तथा घाँटीको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको थियो ।

मध्यविन्दु उद्योग वाणिज्य संघको कार्यालयमा सञ्चालित उक्त शिविरमा १२० जना महिलाको पाठेघरको मुखको क्यान्सर, १२५ जना महिलाको स्तन क्यान्सर र ३८ जना महिलाहरुको मुख तथा घाँटीको क्यान्सर परीक्षण गरिएको थियो ।



Leave a comment