काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा पर्वत जिल्लाको पैयूँ गाउँपालिका, हुवासमा एकदिने सहकारी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयक एकदिने अभिमुखीकरण सम्पन्न भएको हो । अभिमुखीकरण गोष्ठीको समन्वय पैंयूँ गाउँपालिका र जिल्ला सहकारी संघ, पर्वतले गरेको हो ।
अभिमुखीकरण गोष्ठीका प्रमुख अतिथि पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणबहादुर मल्ल ठकुरीले प्रचलित सहकारी सम्बन्धी नियम कानुन र संस्थाको विनियम बमोजिम सहकारी संस्था सञ्चालन गरेमा समस्या नआउने बताए ।
गोष्ठीका विशिष्ठ अतिथि पैयूँ गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले नियमनकारी निकायहरूका बीचमा समन्वय र सहकार्य हुनुपर्ने भन्दै सहकारी क्षेत्रको उत्थान र उन्नयनका लागि सामुहिक सहयोग र सक्रियता चाहिने धारणा राखिन् ।
जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले प्रचलित सहकारीका ऐन कानुन र कार्यविधि बमोजिम सहकारीका गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
सहकारी रजिष्ट्रारको कार्यालय, पोखराका रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको गोष्ठीमा पर्वत जिल्लाका पैयूँ गाउँपालिका, बिहादी गाउँपालिका र महाशीला गाउँपालिकाका विभिन्न सहकारी संस्थाका ८० जना पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
रजिष्ट्रार रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल र पैयूँ गाउँपालिकाका सहकारी शाखा प्रमुख युवराज सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन एवं सहजीकरण तुलसीप्रसाद पौडेलले गरेका थिए ।
गोष्ठीमा सहकारी सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८१, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट हालै जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड लगायतका विषयमा कार्यपत्र प्रस्तुतीकरण भएका थिए ।
सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकार अन्तर्गत हाल ९०८ वटा सहकारी संघ संस्था कायम रहेकोमा हालसम्म ५६४ सहकारी संघ संस्था कार्यालयमा अद्यावधिक रहेका छन् ।
कार्यालयले निष्क्रिय सहकारी खोजी कार्यलाई प्राथमिकतामा राखी सहकारीको अनुगमन, नियमन, प्रवर्धन तथा प्रशिक्षण कार्य समेत सञ्चालन गरिरहेको छ ।
कार्यालयले गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानमा १४ वटा तालिम र १८ वटा अन्तक्र्रिया अभिमुखीकरण गोष्ठी सम्पन्न गरिसकेको कार्यालयका प्रवक्ता ईश्वरी ढकालले बताइन् ।
Leave a comment