काठमाडौं । को–अपरेटिभ म्यानेजर्स क्लब पर्साले सहकारीेका समस्या समाधानका विषयमा अन्तिरक्रिया गरेको छ । शनिवार वीरगञ्जमा क्लवले सहकारी क्षेत्रका वर्तमान समस्या तथा तिनको समाधानका उपायबारे छलफल गरेको हो ।
गृह लक्ष्मी साकोसको सभाहलमा आयोजित “सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम” मा सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । क्लबका सभापति रवि भुषण श्रीवास्तवको अध्यक्षतामा भएको छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, क्लवका संस्थापक अध्यक्ष जिष्णु बराल र निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरू, नीति निर्माणमा सुधारको आवश्यकता, पारदर्शिता अभिवृद्धि र व्यवस्थापन सुधारका उपायहरूबारे छलफल गरेका थिए । छलफलले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक कदमहरुबारे महत्वपूर्ण निष्कर्ष निकालेको आयोजकले जनाए । सचिव प्रदीप कुमार लोहारले संचालन गरेको कार्यक्रममा क्लबका सञ्चालक समिति सदस्यहरुका साथै विभिन्न सहकारी संघ संस्थाका ४० जना प्रतिनिधिको सहभागिता थियो ।
Leave a comment