काठमाडौं । सूर्यविनायक नगरपलिकामा को अपरेटिभ म्यानेजर्स क्लव गठन भएको भएको छ । क्लवको जेठ २ गते दोस्रो साधारण सभाले बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । श्रेष्ठ सर्वसम्मत रुपमा क्लवको अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी क्लवको उपाध्यक्षमा दक्षिणवाराही महिला साकोसकी व्यवस्थापक दिपा श्रेष्ठ क्षेत्री, सचिवमा अमरज्योति साकोसका व्यवस्थापक निर्मलप्रसाद सुवेदी र कोषाध्यक्षमा सिमल साकोसका मोतीराम खाताखो निर्वाचित भएका छन् ।
म्यानेजर्स क्लवको सदस्यहरुमा सुवर्णपुर साकोसका व्यवस्थापक रामकुमार कोयजू, चमेली कल्याणकारी साकोसका व्यवस्थापक सुदर्शन चौलागाई, मैत्रीय साकोसका व्यवस्थापक उमेश शिलवाल, भविष्य साकोसकी व्यवस्थापक लक्ष्मीपुष्पा भट्टराई, पाञ्चायन महिला साकोसकी रेखाकुमारी उपाध्याय, भरोसा साकोसकी गीता थापा र समृद्ध साकोसका वालकृष्ण नगरकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै उनले सहकारी संस्थाका असल अभ्यास एक आपसमा आदानप्रदान गर्न र वर्तमान समयमा यो क्षेत्रले भोगेका समस्याहरुका बारेमा छलफल गरी अघि बढन क्लव उपयुक्त फोरम भएको बताए ।
त्यसैगरी सूर्यविनायक नरपालिका भित्र रहेका सहकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई सशक्तिकरण गर्दै सहकारी संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न पनि क्लवले सघाउने उनको विश्वास छ।
प्रारम्भिक संस्थामा बसेर काम गरेका व्यक्तिहरुलाई मात्र सहकारीको वास्तविक समस्या थाहा हुने भन्दै उनले सहकारीका नेताले समस्याको समाधान गर्न नसक्ने प्रष्ट पारे ।
म्यानेजर्स क्लवलाई विशुद्ध रुपमा पेशागत संघको रुपमा अगाडि बढाउन भन्दै सिईओ धोजुले आफ्नो हकहित स्थापित गर्न समेत क्लवले काम गर्न सुझाए ।
त्यसका साथै सहकारी क्षेत्रलाई शुद्धिकरण गर्दै वित्तीय रुपमा पारदर्शी संस्था सञ्चालन गर्न क्लवले सघाउनु पर्नेमा उनको जोड छ । प्रदेश, जिल्ला र नगरस्तरीय क्लव गठन गरी सांगठनिक रुपमा समेत यो क्षेत्रलाई बलियो बनाएर लैजान आवश्यक रहेको उनको भनाई छ ।
क्लवको विनियमलाई फराकिलो ढंगले लेखन गरी अभियानको प्रवद्र्धनमा सबै पक्ष लाग्नु पर्नेमा उनको जोड छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्लवले संस्थामा कार्यरत कर्मचारी क्षमता विकास गरी उनीहरुलाई सक्षम बनाउने बताए ।
उनले व्यवस्थापक र सहायक व्यवस्थापकको क्षमता विकास गरी संस्थाको वित्तीय कारोबारलाई प्रभावकारी ढंगले अगाडि बढाउन भूमिका खेल्ने उनको भनाई छ ।
दुई बर्षको कार्यकालमा सहकारी क्षेत्रको नीतिगत वहस पैरवीदेखि कानुनी र व्यवहारिक समस्या समाधानमा समेत क्लवले पहल गर्ने उनको भनाई छ ।
कार्यक्रममा चन्द्रागिरि म्यानेजर्स क्लवका सल्लाहकार लेमन श्रेष्ठ र मध्यपुर म्यानेजर्स क्लवका अध्यक्ष शान्तकुमार हेक्का सहित सहकारी संस्थाका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
२०७८ साल फागुनमा पहिलो पटक तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिलाई विघटन गरी नयाँ समिति चयन गरिएको हो ।
Leave a comment