काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आठौं पटक विनियम संशोधनको तयारी गरेको छ । बैंकले विनियम संसोधनकालागि कार्यदल समेत गठन गरेको छ । मंगलबार र बुधवार बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले विनियम संशोधनको लागि कार्यदल गठन गरेको हो । २०५९ मा बनेको बैंकको पहिलो विनियम यस अघि सात पटक संसोधन गरेको छ।
बैंकले २०६५ सालमा पहिलो संसोधन गरेको थियो भने ०६८,०७१,०७४, ०७६, ०७८ र ०८० मा संसोधन गरेको हो । बैंकले यस पटक ८२ मा विनियम संसोधन गर्दा आठौं पटक संसोधन हुनेछ । ०७४ मा रमेश प्रसाद पोखरेलको अध्यक्षको कार्यकाल सकिने बेला बैंकको विनियम संसोधन गरी निवर्तमान अध्यक्ष पदेन संचालक रहने ब्यवस्था गरेको थियो ।
यस पटक नियामकीय निकायको सुझाव अनुसार आगामी वार्षिक साधारण सभामा पेस हुने गरी बैंकका सञ्चालक अमृता सुब्बाको संयोजकत्वमा पाँच सदस्य “विनियम संशोधनको कार्यदल” गठन गरेको बैंकले जनाएको छ ।
कार्यदलमा बैंकका सञ्चालकहरू पार्वती थापा मगर, तारा गुरुङ, ध्रुवराज विष्ट र सदस्य सचिवमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई रहेका छन् । कार्यदलले बैंकका सदस्यहरू, सरोकारवालासँग छलफल गरी नियमकीय निकायबाट प्राप्त सल्लाह सुझाव अनुसार विनियम संशोधनको मस्यौदा संचालक समिति समक्ष पेस गर्ने बैंकको अध्यक्ष गिरीले जानकारी दिए ।
त्यसैगरी बैंकले रणनीतिक तथा व्यावसायिक योजना अद्यावधिक गरी आगामी कार्यदिशा तय गर्नको लागि बैंकका सञ्चालक विजया धितालको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको छ । गठित कार्यदलको सदस्यहरूमा बैंकका सञ्चालकहरू विश्वनाथ मण्डल र काली बहादुर महतरा रहेका छन् ।
कार्यदलले “सदस्य भैटौं, सदस्य सुनौँ कार्यक्रम” अन्तर्गत सदस्यहरूबाट प्राप्त सल्लाह सुझावलाई उच्च प्राथमिकता दिएर बैंकको आगामी कार्यदिशा तय गर्नको लागि साधारण सभा समक्ष प्रस्तुत गर्न सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्नेछ ।
Leave a comment