हाइलाइट

स्याङ्जाको पुतलीबजारमा कृषि सहकारीहरूसँग अन्तरक्रिया

स्याङ्जाको पुतलीबजारमा कृषि सहकारीहरूसँग अन्तरक्रिया :: Sahakari Akhabar

काठमाडौं । सहकारी रजिष्ट्रार कार्यालय, पोखराले स्याङ्जाको पुतलीबजार नगरपालिकामा कृषि सहकारीहरूसँग अन्तक्रिया कार्यक्रम गरेको छ । कार्यलयले    सहकारिता, सहकारी ऐन नियम विषयमा एकदिने अन्तक्र्रिया गोष्ठी गरेको हो ।

बैशाख २६ गते भएको गोष्ठीको जिल्ला सहकारी संघ स्याङ्जाले समन्वयमा गरेको थियो । कार्यक्रममा स्याङ्जा जिल्लाका दुग्ध, फलफूल, तरकारी, माछा उत्पादन लगायतका विभिन्न कृषि सहकारीहरुका सञ्चालक, लेखा समिति सदस्य र व्यवस्थापक गरी ६५ जनाको सहभागीता थियो ।

कार्यक्रमको सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीको प्रमुख आतिथ्यता रहेको थियो । गोष्ठीमा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल र जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति थियो ।

प्रमुख अतिथि जिटीले खानेकुरालाई विषादी रहित बनाउनुपर्ने कुरामा जोड दिएका थिए । उनले अधिकांश सहकारीले सही बाटो लिएतापनि केही खराब नियतका सहकारीका कारण सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए । जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष पौडेलले सहकारी संघ संस्थालाई उद्देश्यमूलक तवरले सञ्चालन गर्न सबैमा अनुरोध गरेका थिए ।

उनले सहकारीलाई व्यवस्थित र मर्यादित रुपमा चलाई सफलताको सन्देश दिनु पर्ने धारणा राखे । जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष श्रेष्ठले ब्यापारी मरे केही नहुने तर किसान मरेमा देशै मर्ने भनाइ राख्र्दै उपभोग्य वस्तु हाम्रै गाउँघरमा उत्पादित वस्तु भएमा जीवनस्तर र स्वास्थ्य सुधार हुने बताए ।

कृषि सहकारीका सहभागीहरुले बाली बिमा झन्झटिलो रहेकोले प्रक्रिया घटाई प्रभावकारी बनाउनुपर्ने, उन्नत बीउका नाममा वर्णशंकर बीउ प्रयोग हुँदा रकम बाहिर जाने र उपलब्धि नहुने भनाइ राखेका थिए । त्यसैगरी बीउ स्वदेशमै उत्पादन हुनुपर्ने, कृषि उत्पादन लागत घटाउनुपर्ने, अनुदान वितरण लक्षित वर्गले पाउने गरी वितरण हुनुपर्ने बताए । नीति निर्माणमा किसान सहभागी गराउनुपर्ने विषय उठान गर्दै कृषि उत्पादन, विविधीकरण, बजारीकरण, अनुदान, बाली बिमा, रासायनिक मल, बीउ आदि विषयमा आ(आफ्ना भनाइ राखेका थिए । 

स्याङ्जा जिल्लामा विभिन्न प्रकृतिका ४७२ वटा सहकारी संघ संस्था रहेकोमा गण्डकी प्रदेश, सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकार भित्र १३४ वटा र सम्बन्धित पालिका नियमन क्षेत्राधिकार भित्र ३३८ वटा सहकारी संघ संस्था रहेको जनाइएको छ । स्याङ्जामा दुग्धजन्य, फलफूल, तरकारी, माछा उत्पादन लगायतका कृषि सहकारीहरुको संख्या भने १२४ रहेको छ ।
  
 



Leave a comment