काठमाडौं। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले पहिलो पटक आयोजना गरेको प्रदेशस्तरिय साकोस गोष्ठी भोली कोशी प्रदेशको इटहरीमा हुँदैछ । फरक फरक मितिमा तीनवटा प्रदेशमा गर्नलागिएको एकदिवसीय गोष्ठीमा तीनवटा विषयका कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।
लायन्स क्लवको सभाहल पचरुखी इटहरीमा हुने गोष्ठीमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले ‘साकोस अभियानको प्रवर्धन र हितका लागि आगामी कार्यदिशा’ विषयको कार्यपत्र प्रस्तुत गर्नेछन् भने कोशी प्रदेशका सहकारी रजिष्ट्रार हरीबहादुर खत्री टिप्पणीकर्ता रहेका छन् । त्यसैगरी नेफ्स्कूनका संचालक शालिकराम ढकालले उक्त सेसनको अध्यक्षता गर्ने तालिका रहेको छ ।
गोष्ठीमा सिए राजन अधिकारीले ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे टिप्पणीकर्ता रहेका छन् । त्यसैगरी नेफ्स्कूनका लेखा समिति संयोजक इन्द्रराज ज्योती पौडेलले उक्त सेसनको अध्यक्षता गर्ने जनाइएको छ ।
त्यसैगरी गोष्ठीमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव तथा प्रवक्ता रविन ढकालले, ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयको कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल राष्ट्र बैंक विराटनगर शाखा कार्यकारी निर्देशक दिलबहादुर सुब्बा टिप्पणीकर्ता रहेका छन् । त्यसैगरी उक्त सेसनको अध्यक्षता नेफ्स्कूनका संचालक लक्ष्मी सापकोटाले गर्ने जनाइएको छ।
कार्यक्रम ब्यवस्थापन सहजकर्ताका रुपमा नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहाल रहेका छन् । अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ को अवसरमा आयोजना गरिएको गोष्ठीले वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनमा महत्वपूर्ण भूमिका खेल्ने नेफ्स्कूनले जनाएको छ ।
गोष्ठिमा संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा अन्य सरोकारवाला गरि कम्तीमा २ सय जना सहभागी गरिाउने जनाइएको छ । त्यसैगरी मधेश प्रदेशस्तरीय साकोस गोष्ठी वैशाख २८ गते बर्दिबासमा र लुम्बिनी, कर्णाली तथा सूदुरपश्चिम प्रदेशस्तरीय संयुक्त गोष्ठी नेपालगञ्जमा वैशाख ३१ गते हुने जनाइएको छ ।
Leave a comment