काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औं स्थापना दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको लागि ७४४ वटा नियमन निकाय हुँदा पनि नियमन कमजोर हुनु दुखद कुरा भएको बताए । उनले सहकारीमा विकृती देखिएको भन्दै प्रभावकारी नियमन तथा अनुगमनको लागि दोस्रो तहको नियमक निकाय आवश्यक भएरै अभियानबाट माग भएको बताए ।
उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्देशन तथा मापदण्ड जारी गर्दा सहकारीको कानुनी अस्पष्टता र अन्यौलता हट्नेमा उनले विश्वास व्यक्त गरे । अभियानका सबैले समस्या मात्र देखाएर बस्न नहुन भन्दै आफ्नो कर्तव्य र भूमिका पनि निभाउनुपर्ने उनको भनाइ छ । उनले सहकारीमा गलत गर्ने र सही गर्नेको पहिचान विना सहकारीको समस्या समाधान नहुने बताए ।
संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजूको सभापतित्वमा भएको कार्यक्रममा उनल सहकारी पिडितलाई बचत फिर्ताको सुनिश्चिता हुने गरी ऐन संशोधन हुन नसक्दा सहकारी ठगहरुलाई मलजल पुगेको बताए । सहकारीमा बदमास गर्नेलाई कार्वाही गर्न सक्ने कानुनको माग गरेकोमा माग गर्ने सहकारीलाई नै सिध्याउने ढंगबाट ऐन, निर्देशन र मापदण्ड जारी गर्नु गलत भएको बताए ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारीलाई स्तरीकरण कार्यक्रममा भाग लिई बलियो बनाउनुपर्ने बताए । बागमती प्रोस्कूनले पहिलो चोटी संघहरुको स्तरीकरण कार्यक्रम संचालन गरी संघहरुको स्तरीकरणबाट प्रारम्भिक संस्थाहरुले गुणस्तरीय सेवाको सुनिश्चितता हुने बताए ।
संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै सहकारीमा समयसँगै परिवर्तीत सहकारी नियम कानुन बमोजिम कार्यशैली परिवर्तन गर्नुको विकल्प नभएको बताए । संघका उपाध्यक्ष हरि बल्लले सहकारी पिडीतहरुको पक्ष भन्दा पनि सहकारी ठगहरुको संरक्षणमा ऐन कानुनले बढी प्रशय पाएको बताए ।
सहकारीमा कानुनी जटीलताहरु थप्दै सहकारी अभियानलाई कमजोर पार्ने कामहरु भइरहेका उनको भनाइ थियो । बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जारी सहकारी विद्येयक, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार युवा बचत तथा ऋण सहकारी संस्था, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार देवी महिला बचत तथा ऋण सहकारी संस्था, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार लोकेश्वर बचत तथा ऋण सहकारी संस्थालाई प्रदान गरिएको छ ।
त्यसैगरी सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सुर्वर्णपुर बचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार बालकुमारी बचत तथा ऋण सहकारी संस्थालाई प्रदान गरिएको छ ।
साथै ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिता बापत भक्तपुर साकोस, बालाखु गणेश साकोस र लोकेश्वर साकोसलाई पुरस्कार तथा सम्मान गरेको थियो । कार्यक्रम संघका सदस्य संस्थाहरुबाट २०५ जनाको सहभागिता रहेको थियो ।
Leave a comment