काठमाडौं । तनहुँको दमौलीमा तीनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । बैशाख १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिमको जिल्ला सहकारी संघ र दुग्ध सहकारी संघ तनहुँले गरेका थिए । तालिम सहकारी रजिष्ट्रारको कार्यालय, पोखराले आयोजना गरेको हो ।
तालिमको समापनमा दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका अध्यक्ष अम्मरबहादुर कुँवरले कानुन, सिद्धान्त, मूल्यमान्यता अनुरुप सहकारी सञ्चालन हुनुपर्ने विचार राखेका थिए ।
अध्यक्ष कुँवरले तालिमले व्यवसायिक उपयोगिता बढाउनुका साथै सहभागीहरूमा काम गर्ने दृढता वृद्धिमा प्रोत्साहित गर्ने बिचार राखे ।
उनले धेरै वर्षपछि तनहुँमा दुग्धउत्पादक सहकारीलाई लक्षित गरी तालिम आयोजना गरिएको भन्दै उत्पादनमूलक सहकारीहरूको प्रवर्धनका लागि तालिम आवश्यक रहेको बताए ।
जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदीपराज अधिकारीले तालिममा विज्ञबाट पशुधन, दुग्धपदार्थ उत्पादन, वितरण, रोग पहिचान र रोगथाम, दाना चोकर लगायतका विषय प्रभावकारी भएको धारणा राखे ।
उनले दुग्ध उत्पादक सहकारीहरूले गर्मी मौसममा मोही जस्ता पेय पदार्थ उत्पादन र विक्री वितरण गरेमा सर्वसाधारणको स्वास्थ्यमा टेवा पुग्नुका साथै बजारका अस्वस्थ्यकर पेय पदार्थ बिस्थापित हुँदै जाने बताए ।
तनहुँ जिल्लाका विभिन्न दुग्धउत्पादक सहकारी संस्थाका ३४ जना सहभागी रहेको तालिममा सहकारी रजिष्ट्रार भेषराज रिजाल, भेटेरिनरी डाक्टर लक्ष्मण ढकाल, शाखा अधिकृत ईश्वरी ढकाल र शाखा अधिकृत चोलाकान्त वाग्लेले कक्षा सहजीकरण गरेका थिए ।
तालिममा सहकारीका सिद्धान्त, मूल्यमान्यता र सहकारीको विकासक्रम, सहकारी कानुन, सहकारीमा ऋण लगानी र असुली विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।
त्यसैगरी सहकारीका सञ्चालकलगायतका पदाधिकारीहरूको काम कर्तव्य र अधिकार, सहकारी व्यवस्थापका विभिन्न पक्षहरू, पशुधन पालन, संरक्षण दुग्ध उत्पादन, दुग्धपदार्थको बजारीकरण लगायतका विषयवस्तुउपर अन्तक्र्रियात्मक कक्षा सञ्चालन भएको थियो ।
Leave a comment