काठमाडौं । मातातीर्थ औंशीको अवसरमा भक्तपुरको मध्यपुर थिमि सहकारीले आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम गरेको छ । संस्थामा आवद्ध रहेका ६० वर्ष पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर सम्मान गरेको हो ।
जिवित भगवान रुपी आमाहरूको सम्मान, सभ्य समाजको पहिचान नारा दिएर संस्थाले ५७ जना आमाहरूलाई संयुक्त रुपमा सम्मान गरेको संस्थाका सचिव अनिल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सबै सहकारीलाई एउटै नजरले हेर्न नहुने भन्दै जेष्ठ नागरिक आमाहरूलाई वित्तीय संस्थाहरूमा हालै देखिएको विचलनहरूप्रति सचेत रहन आग्रह गरे ।
वडाध्यक्ष श्रेष्ठले सामाजिक कार्य गर्दै आएको, वार्षिक साधारण गरेको, आफ्ना सदस्यहरूप्रति जवाफदेही रहेको, सहकारी नीति बमोजिम संचालनमा रहेको र स्थानीयबासिन्दाले सञ्चालन गरेको संस्थामा तुलनात्मक रूपमा कम समस्याहरू देखिएको बताए।
सीमित गलत सहकारी संस्थाहरूको कारणले गर्दा सम्पूर्ण सहकारी अभियान नकारात्मक रूपमा प्रभावित भइरहेको उनको भनाइ थियो । ३० हजारको संख्यामा रहेका नेपालका सहकारी संस्थाहरु केही गलत नियतले सञ्चालन भएका सहकारीहरूबाट प्रभावित हुनुपरेको तीतो यथार्य रहेको उनको भनाइ थियो ।
Leave a comment