सबैको साकोसका जेष्ठ सदस्यलाई भ्रमण र सम्मान

सबैको साकोसका जेष्ठ सदस्यलाई भ्रमण र सम्मान :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई तीर्थ भ्रमण तथा सम्मान गरेको छ ।

संस्थाको चौथो एकीकरण दिवसको अवसरमा बैशाख १० गते संस्थाका ७५ वर्ष माथिका जेष्ठ सदस्यहरुलाई भ्रमण तथा सम्मान गरेको हो । यसै अवसरमा संस्थाले मानव सेवा आश्रम मोक्षधाममा अक्षय कोष स्थापनार्थ सहयोग रकम समेत हस्तान्तरण गरेको छ ।

संस्थाका ७५ बर्ष माथिका सदस्यहरुलाई केवलकारबाट पाल्पा स्थित बसन्तपूर भ्रमण गराएको थियो । यस बर्ष ७५ बर्ष पार भएका १३ जना मध्ये १० सदस्यहरु भ्रमण तथा सम्मान कार्यक्रममा सहभागि हुनु भएको थियो ।

संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षता तथा संस्थाका बरिष्ठ सदस्य प्राध्यापक डाक्टर गणेश पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जेष्ठ सदस्यहरुलाई संस्थाका सल्लाहकारहरु प्रा.डा. रामचन्द्र आचार्य, रामचन्द्र ढकाल, प्रोस्कून लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपाल, राजेन्द्र सुवेदी, गायत्री पाण्डेयले दोसल्ला, रुद्राक्ष माला र कदर पत्र सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष भूसालले एकीकरण दिवसको सन्दर्भमा हरेक बर्ष जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने गरेको जानकारी दिए ।

प्रमुख अतिथि प्रा.डा. गणेश पाठकले जेष्ठ सदस्यहरु परिवारको असल परम्परा र संस्कारका प्रवद्र्धक भएकाले उनिहरुको सम्मान गर्ने कार्य छाड्न नहुने बताए ।

संस्थाका सल्लाहकार रामचन्द्र ढकालले संयुक्त परिवारमा हजुर बा हजुर आमाले नाति नातिनीहरुलाई समाज, संस्कृति र परम्पराको ज्ञान हस्तान्तरण गर्ने हुँदा संस्कृति र परम्पराको जगेर्ना गर्न पनि पाको पुस्ताको सम्मान र उनिहरु संगै रहने बातावरण आवश्यक रहेको बताए ।

सम्मानित जेष्ठ सदस्य देविप्रसाद पाण्डेय तथा बाबुराम न्यौपानेले सहकारीले पाको पुस्तालाई सम्मानित गरेर आफुहरुलाई उत्साहित गराएको बताए ।

शारिरिक कमजोरी बाहेक जेष्ठ नागरिकहरुमा विगतका अनेक अनुभव, ज्ञान र इतिहास रहने हुदा परिवार र समाजले जेष्ठ नागरिकहरुबाट ति विषयमा लाभ लिन सक्नु पर्ने बिचार राखे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ६ स्थित मानव सेवा आश्रमलाई संस्थाको सामुदायिक विकासमा सहकार्य अन्तर्गत अक्षयकोषका लागि २५ हजार हस्तान्तरण गरेको छ ।

सबैको साकोस वि.सं. २०७७ चैत्रमा ११ वटा सहकारी संस्था एकीकृत भई सञ्चालनमा रहेको छ । संस्था यस बर्ष सहकारी दिवसका अवसरमा लुम्बिनी प्रदेश कृषि, भूमिब्यवस्था र सहकारी मन्त्रालयबाट उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भएको छ।  
 



Leave a comment