आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ नगरपालिका

आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ नगरपालिका :: Sahakari Akhabar

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन् ।

अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्ररित गर्दै आएको छ । अनुदानमा आधुनिक खोर निर्माण गर्नु भएकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताइन ।

उनले भनिन्,“अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अव सजिलो हुने भयो ।” अहिले १२ वटा बाख्रा पाल्दै आएकी मल्लले अव खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने बताइन् । गाउँका धेरै बाख्रा पालक कृषकले खोर बनाउने योजना बनाएको उनले बताइन् । मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्वी महिला कृषक समूहकी अध्यक्ष हुन । 

३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताइन । वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडा अध्यक्ष छविलाल आलेले बताए ।

नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’मार्फत आधुनिक खोर निर्माण गरिएको उनको भनाई छ । कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।

बाख्राको नश्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खांणले बताए । उनले भने,“साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौं ।” वडाको पकेट क्षेत्र नै छुट्याएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खांणको भनाई छ ।

बाख्रा पालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जनाए । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सवल बनाउने पालिकाको योजना रहेको उनको भनाई छ ।

नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४,५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका र सरसफाई सम्वन्धी जानकारी दिदै आएको उनको भनाई छ।



Leave a comment