काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २४औ वर्षमा प्रवेश गरेको अवसरमा पाटन सेवाकेन्द्र ठैबमा सुरु गरेको छ । ललितपुरको पुल्चोकको साविक पाटन बहुउद्धेश्यीय सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था विच एकीकरण प्रकृया सम्पन्न भई पाटन सेवाकेन्द्र गोदावरी नगरपालिका वडा नं. १४, ठैबमा सञ्चालन भएको संस्थाका अध्यक्ष शिब शङ्कर मानन्धरले जानकारी दिए ।
आइएलओका बोर्ड मेम्बर तथा चन्द्रागिरि साकोसका सल्लाहकार योगेन्द्र कुमार कुँबरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त सेवा केन्द्रबाट वैशाख ६ गते नै ७० जना नयाँ व्यक्तिहरुले सदस्यता लिनुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कुँबरले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेको बताए । उनले सहकारी क्षेत्रकै छबी राम्रो बनाउनमा पनि योगदान रहने गरी अगाडि बढ्ने भूमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे र १४ का अध्यक्ष निरोज बज्राचार्यले सहकारी अभियानमा चुनौती बढिरहेको समयमा समुदायमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको चन्द्रागिरि साकोसले ठैबबाट सेवा प्रवाह गरेकोमा खुशी व्यक्त गरे।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा प्रस्तुतीकरण राखेका थिए ।
सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्य राजेश महर्जनले चन्द्रागिरि साकोस र पाटन बहुउद्देश्यीय सहकारीको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गरेका थिए ।
संस्थाका अध्यक्ष शिबशङ्कर मानन्धरले चन्द्रागिरि साकोसमा २२ हजार जना सेयर सदस्य आबद्ध भएको उल्लेख गर्दै तीन अर्ब ६३ करोड कुल सम्पत्ती रहेकाले गोदावरी नगरपालिका क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थागत पूँजी कोषमा २१ करोड रहेको उल्लेख गर्दै ऋण लगानी २ अर्ब ३० करोड रहेको जानकारी दिइएको थियो । संस्थामा तीन अर्ब बचत रहेको सिइओ श्रेष्ठले बताए । स्टार अस्पतालसँगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गर्नु भएको काशीनाथ घिमिरेले जानकारी दिए ।
संस्थाका चन्द्रागिरि १ दहचोक, ओमन्स क्रियसन सेवाकेन्द्र बुढानीलकण्ठ, शुभतारा सेवा केन्द्र खुमलटार र पाटन सेवा केन्द्र पुल्चोकबाट सदस्यहरूला सेवा दिइरहेको छ ।
Leave a comment