काठमाडौं । अर्घाखाँचीको प्रगति किसान सहकारी संस्थामार्फतमौरीपालक किसानलाई मौरी पालनकालागि आवश्यक सामग्री वितरण गरिएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ र २ ढाकावाङका मौरीपालक किसानलाई सहकारी मार्फत मौरीसहित आवश्यक सामग्री वितरण गरिएको हो ।
भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले कार्यक्रम गरि किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरेका हुन् ।
मौरी पालनको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरेको नगरप्रमुुख थापाले बताए ।
उनले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न किसानलाई आग्रह गरे । व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीसहित आवश्यक सामग्री वितरण गरेको बताए ।
सहकारीमा आबद्ध एक सय किसानलाई संस्थाले दुई दिने तालिम दिएर भूमिकास्थान नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपरसहित माहुरी घार उपलब्ध गराएको सहकारीका अध्यक्ष भुसालले जानकारी दिए ।
उनले किसानलाई चार सय २५ थान मह प्याक गर्ने प्लास्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, तीन सय थान लेवलिङ छपाइ, स्ट्याण्डलगायत सामग्री वितरण गरिएको बताए ।
Leave a comment