काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)को साझेदारीमा सम्पन्न भएको हो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सहकारी संस्था स्तरीकरण कार्यक्रममा आवद्ध हुँदा संस्थालाई नीति, नियम विपरीत जान दिदैन र संस्थाको वित्तीय पाटोको बारेमा सुक्ष्म विश्लेषण हुने बताए ।
कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघले कब्र्स सम्बन्धी अभिमुखीकरण कार्यक्रम दोस्रो पटक आयोजना गरिएको र कब्र्स, प्रोबेसन, एक्सेस जस्ता स्तरीकरण कार्यक्रमले संस्थाको स्तरोन्नति हुने बताए ।
उनले सदस्य, कर्मचारी, संचालकको समेत सुरक्षण हुने बताए । हालै नेपाल राष्ट्र बैंकले जारी गरेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ मा भएका बचतको सिमा, जोखिम कोषको व्यवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले साकोसमा हुने सम्भावित जोखिमको बारेमा प्रशिक्षण गर्नुहुँदै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा संघमा आवद्ध २२ वटा संस्थाहरुका प्रतिनिधि तथा संघका पदाधिकारी, कर्मचारी समेत गरी ३८ जनाको सहभागिता रहेको थियो ।
Leave a comment