काठमाडौं । काभ्रेको बुडोल बनेपामा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनी विकमा सप्ताहब्यापी कार्यक्रम गरेको छ । संस्थाले ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी ग्लोबल मनी विक २०२५ मनाएको हो । विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका र युवाहरुलाई लक्षित गरी संस्थाले चैत्र ४ गतेदेखि १० गतेसम्म विद्यालयमा ‘बुसा’ कार्यक्रम मार्फत ३३१ जनालाई वित्तीय सारक्षता प्रदान गरेको थियो ।
कार्यक्रममा बालबालिका, किशोर किशोरी र युवाहरूलाई श्रव्य दृश्य सामग्रीको प्रस्तुतीमार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माणका विषयमा साक्षरता प्रदान गरेको थियो ।
त्यसैगरी सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा पनि प्रशिक्षण गराएको थियो । संस्थाले श्री पूर्ण सञ्जिवनी लंखनामाई विद्यालय धुलिखेलको कक्षा ११ र १२ मा अध्ययनरत ३६ जना, ए.बि.एम स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ६५ जना र प्रगति प्रभात स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ५६ जनालाई वित्तिय शिक्षा प्रदान गरेको हो ।
यसैगरी सिद्धार्थ मावि बनेपाको कक्षा ११ मा अध्ययनरत ५१ जना, श्री पञ्चकन्या आधारभूत विद्यालय धुलिखेलको कक्षा ६, ७ र ८ मा अध्ययनरत ४५ जनालाई पनि संस्थाले वित्तिय शिक्षा प्रदान गरेको थियो । त्यसैगरी संस्थाले निस्ट स्कूल बनेपाको कक्षा ११ मा अध्ययनरत ५० जना र संस्थाको मुख्य कार्यालयको सभाहलमा २८ जना विद्यार्थीहरुलाई ग्लोबल मनी विकको अवसरमा ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने शिक्षा प्रदान गरेको छ ।
विद्यालयहरुबाट संस्थाले व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई पैसाको व्यवस्थापन गर्न सिकाएकोले प्रभावकारी भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको अपेक्षा रहेको बताएका थिए । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठनको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक (Global Money Week-GMW) विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भमा बुडोल सामुदायिक साकोसले वित्तीय सारक्षता सम्बन्धी विभिन्न कार्यक्रम गर्दै हरेक वर्ष ग्लोबल मनी विक मनाउँदै आएको जनाइएको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया