नवजीवन सहकारीद्धारा डेढ करोडमा राइस मिल संचालन

नवजीवन सहकारीद्धारा डेढ करोडमा राइस मिल संचालन :: Sahakari Akhabar

काठमाडौं । कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थाले राइस मिल सञ्चालनमा ल्याएको छ । संस्थाबाट संचालन भएको राइस मिलले मसिनो र ग्रेडिङ चामल उत्पादन गर्न थालेको हो । धनगढीमा प्रधान कार्यालय रहेको संस्थाले गोदावरी नगरपालिका ८ मजगाउँमा कृषि उप आयोजना अन्तर्गत नवजीवन खाद्य उद्योग (राइस मिल) सञ्चालन गरी मसिनो र ग्रेडिङ चामल बजारमा ल्याउन थालेको छ।

सहकारीले कृषि उप आयोजना अन्तर्गत १ करोड ५० लाख लगानीमा मिल सञ्चालनमा ल्याएको जनाइएको छ । राइस मिलले सम्म १६ हजार २८७ क्विन्टल धान खरिद गरी १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको छ। संस्थाले ५ सय ५१ क्विन्टल चामल उत्पादन गरेको अध्यक्ष देवबहादुर बमले जानकारी दिए ।

सहकारीले २५ किलोग्राम मोटो चामलको एक हजार चार सय र मसिनो चामलको २ हजार २ सय मूल्य राखेको छ । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमको भनाइ छ । उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री गरिने अध्यक्ष बलमे जनाए । संस्थाले घर–घरमा नै चामल पुगाउने सुविधा समेत दिने उनको भनाइ छ।

संस्थाले मझगाउँमा कृषि उपआयोजनाका लागि एक बिगाहा १० कट्ठा जग्गा खरिद गरेको र सोही स्थानमा पाँच हजार टन क्षमताको गोदाम घर निर्माण गरेको छ । ‘नवजीवन उद्योगीक ग्रामका रूपमा विकास गर्ने छौ। अध्यक्ष बलमे भने, यो क्षेत्रमा मसुरोको दाल, तोरीको तेल र पानी उत्पादन गर्ने तयारीमा छौ । चामलको उत्पादन र धान खरिद पनि बढाउनेछौ ।’ संस्थामा ३६ हजार शेयर सदस्य रहेका छन् ।

शुद्ध र अग्र्यानीक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको बमको भनाइ छ । २०५० साल मङ्सिर ३० गते स्थापना भएको नवजीवन सहकारी संस्थाका सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० सेवाकेन्द्र रहेका छन् । ३१ करोड ३४ लाख शेयर पूँजी रहेको संस्थामा पाँच अर्ब ७३ लाख ६४ हजार निक्षेप र ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ ऋण लगानीमा रहेको जनाइएको छ । संस्थाको ६ अर्ब ४७ करोड ९० लाख कुल सम्पती रहेको छ।



Leave a comment