बचत संघ भक्तपुरद्धारा सहकारीमा कार्यविधि निर्माण तालिम 

बचत संघ भक्तपुरद्धारा सहकारीमा कार्यविधि निर्माण तालिम  :: Sahakari Akhabar

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरले नेफ्स्कूनको प्राविधिक साझेदारीमा कार्यविधि निर्माण तालिम दिएको छ । चैत ८ गते भक्तपुरमा भएको तालिममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्था संस्थागत भई दिगो हुन नीति, विधि र प्रविधिबाट संचालन हुनु पर्ने बताए ।

नीति र विधि विना व्यक्तिगत निर्णयबाट संचालित सहकारी, सहकारी नभई एक्लौटी व्यवसाय हुने उनको भनाई छ । तालिममा उनले जारी अध्यादेशले नेपालभरीमा कुनै एक प्रकृतीमा सदस्य भएपछि अर्को सोहि प्रकृतीको सदस्य हुन नपाउने व्यवस्था व्यवहारिक नभएको बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्था संचालन गर्न बचत, ऋण, आर्थिक प्रशासन, कर्मचारी प्रशासन र सम्पत्ती शुद्धिकरण निवारण कार्यविधि लगायतका आधारभूत कार्यविधिको निर्माण तथा ऐन कानून अनुसार अद्यावधि गर्नुपर्ने बताए । कार्यविधि काम गर्ने विधी भएकोले उक्त विधीलाई उत्कृष्ट बनाउन निरन्तर प्रयोग र समयनुकाल परिमार्जनमा ध्यानदिनुपर्ने उनले भने ।

नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले कार्यविधि निर्माण गर्दा गाह्रो भएता पनि कार्यविधीले कानुन सम्मत कार्यान्वयन गर्न सहयोग गर्ने बताए । तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने र कार्यविधि निमार्णले काम गर्न सहजता हुने बताए ।

तालिममा सहभागीहरुले सहकारीको कार्यविधि निर्माण प्रयोगात्मक सिकाई भएकोले खुसी व्यक्त गरे । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्चतहका कर्मचारीहरु गरी ३४ जनाको सहभागिता रहेको थियो ।



Leave a comment