विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले महानगरपालिकाले छिट्टै सहकारी ऐन बनाएर व्यवस्थित गर्ने बताएका छन् । सोमबार विराटनगरमा सम्पन्न सहकारी सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर कोईरालाले महानगरले अझैसम्म ऐन बनाउन नसकेको बताउँदै अर्को बर्ष ऐन बनाउने तयारीमा लागेको बताए ।
थोरै सहकारीमा समस्या आएकाले यसको असर अन्य राम्रा सहकारीलाई पनि पर्यो, उनले भने कमिकमजोरी हाम्रो पनि भयो । हामीले समयमा नै ऐन बनाउन सकेनौं । यो पटक बजेट अभावले पनि समस्या भयो । अर्को बर्ष जसरी पनि ऐन बनाएर महानगर कार्यक्षेत्रभित्रका सहकारीलाई व्यवस्थित गर्नेछौं ।’ अब सहकारीलाई कसरी राम्रो बनाएर लैजान सकिन्छ भन्ने विषयमा सबैले सोच्नुपर्ने उनले बताए ।
त्यस्तै महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सहकारीप्रति सरकारले हेर्ने दृष्टिकोण, सहकारी सञ्चालन गरिरहदा सञ्चालकले भोग्नुपरेको बाध्यता, समस्या र अनुभूति बेग्लै छन् भने स्थानीय तहमा सेवाग्राहीले आएर दिएका निवेदनका आधारमा स्थानीय सरकारले हेर्ने दृष्टिकाण फरक भएकाले यसलाई एकै ठाउँमा राखेर सहकारीलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने बताईन ।
उनले सहकारीलाई हेर्ने नजरिया परिवर्तन गराउने तर्फ सबैले सोच्नुपर्ने बताउँदै सहकारीमा साच्चिकै भएका कमिकमजोरीलाई सच्याएर सहकारीप्रति जनताले लगाएका आरोपहरु पखाल्नुपर्ने अवस्था रहेको बताईन् ।
‘सहकारी क्षेत्रलाई विश्वास योग्य बनाउन विराटनगर महानगरपालिकाले भोलीका दिनमा कस्ता खालका निति नियम ल्याउँदा प्रभावकारी हुन्छ भन्ने विषयमा छलफल गर्नुर्र्ने’, उनले भनिन्, ‘साच्चै सहकारीलाई हेर्न दृष्टिकोण परिवर्तन गर्नका लागि सहकारीकर्मीहरुले पनि काम कर्तव्य जिम्मेवारी लगायत के कस्ता कदम चाल्दा वा सच्याउँदा जुन उदेश्यले सहकारी स्थापना भएकोछ सोही अनुसार चल्छ भन्ने विषयमा ध्यान दिएर अघि बढ्नुपर्छ ।’
कार्यक्रमा सहकारीको वर्तमान अवस्था र सवालहरु : शाखाका गतिविधिहरुको बारेमा विराटनगर महानगरपालिका सहकारी शाखा प्रमुख चाँदनी राईले कार्यपत्र प्रस्तुत गरेकी थिईन भने जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा.डिल्ली पोखरेलले सहकारीका वर्तमान समस्या तथा चुनौतिहरु र समाधानका लागि रचनात्मक उपायहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
विराटनगर महानगरपालिकाको कार्यक्षेत्रभित्र १७२ वटा सहकारी संस्था रहेकोमा १७२ वटै संस्था कोपोमिसमा आवद्ध भएका छन् । जसमा ९९ वटा सहकारीले मात्र शेयर सदस्य विवरण भरेका छन् । त्यसैगरी मासिक प्रतिवेदन ११८ वटा सहकारीले पेश गरेका छन् । साधारण सभाको बिवरण २० वटा सहकारीले मात्र पेश गरेको महानगरले जनाएको छ ।
पालिकाले आर्थिक बर्ष २०८१ / ०८२ को फागुनसम्ममा २६ वटा सहकारीको अनुगमन गरेको छ भने आर्थिक बर्ष २०८१÷०८२ को फागुनसम्ममा सहकारीका विभिन्न प्रकृतिका ४० वटा उजुरी महानगरको न्यायिक समितिमा परेको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिईन् । आर्थिक विकास समिति संयोजक तथा वडा नं १९ का वडा अध्यक्ष श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका सहकारीकर्मी तथा सुचिकृत अडिटरहरुको सहभागिता रहेको थियो ।
Leave a comment