काठमाडौं । एशियाली ऋण महासंघ (आकू) का कर्मचारीले थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था भ्रमण गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को संयोजनमा संस्थाको भ्रमण गरेका हुन् ।
आकूका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सानरोके र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले उक्त संस्थाको अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा सहित रहेका थिए ।
यसैक्रममा सहकारी अभियानको प्रवद्र्धन, संस्थाहरुको सबलीकरण र दिगो सञ्जालीकरण र सदस्यहरुलाई आर्थिक रुपले सृद्धढ बनाउने विषयमा छलफल भएको छ ।
संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै भ्रमणले चन्द्रागिरि साकोसको दिगो विकास र नेपालको साकोस अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । उनले सहकारी मूल्य, सिद्धान्त तथा व्यवसायिक सञ्चालनलाई प्रभावकारी बनाउन आकु र नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको बताए ।
आकू प्रमुख कार्यकारी अधिकृत लेनीले एशियाली बचत तथा ऋण सहकारी संस्थाहरुको सशक्तिकरणमा एशियाली ऋण महासंघको भूमिका रहने भन्दै सहकारीहरु विचको सहकार्य, संस्थाको वित्तीय सुरक्षा र सदस्य केन्द्रित सेवाले दिगो साकोस निर्माण र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने कुरामा जोड दिइन । प्रमुख प्राविधिक अधिकृत रञ्जितले सहकारीहरुलाई प्राविधि मैत्री बनाउन आवश्यक कदमहरुको बारे जानकारी दिए ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले नेपालमा साकोस अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रीय संघ र प्रारम्भिक संस्थाविचको सहकार्य प्रभावकारी हुनुपर्ने र चन्द्रागिरि साकोसलाई महत्वका साथ राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरुले नियालीरहेको बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको गतिविधि योजना र प्राथमिकताहरुको बारेमा प्रस्तुतीकरण राख्दै चन्द्रागिरि साकोसले वित्तीय स्थिरता, सदस्यहरुको समुन्नती, सुशासन र समुदायको विकास अवको प्राथमिकताको क्षेत्र रहेको विषयमा जानकारी दिए ।
लेखा सुपरिवेक्षण समितिको संयोजक भानु प्रकाश ढकालले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियानलाई मजबुत बनाउन यस भ्रमण फलदायी हुने बताए । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Leave a comment