काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले बचत संघको सुशासन र दिगोपनका लागि स्तरिकरण कार्यशाला सुरु गरेको छ। संघले पहिलो कार्यशाला भक्तपुर बचत तथा ऋण सहकारी संघबाट सुरु गरेको हो ।
बागमती प्रदेश सरकारसंगको सहकार्यमा सञ्चालित स्तरिकरण कार्यक्रम (कोशिस) विषयगत संघ समूह अन्तर्गत पहिलो सार्थक एवम् नविनतम व्यवस्थापन कार्यशाला भक्तपुर जिल्ला बचत संघको आयोजनामा फागुन २५ गते आईतबार सम्पनन गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले संघमा आबद्ध रहेका सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै अरुलाई सिकाउन पहिले आफू दक्ष हुनुपर्ने र त्यसैका लागि संयुक्त सिकाईलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ विषयगत संघहरुको लागि स्तरीकरण कार्यक्रम विकास गरिएको बताए । उनले उक्त कार्यक्रमले संघको स्तरीकरण भई सदस्य सेवामा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जिल्ला बचत संघमा आबद्ध रहेका संस्थाहरुलाई माथिल्लो संघहरुले आफ्नै सदस्यको रुपमा गणना गर्नसक्ने कानुनी व्यवस्था गर्नसके प्रारम्भिक संस्था बहुसंघमा सदस्यता लिने परिपाटिको अन्त्य हुने बताए ।
उनले सहकारीको कारोबारका कारण राज्य ग्रे लिष्टमा परेको गलत भाष्य निर्माण भएको बताए । उनले सिक्ने सिकाउने कार्यलाई निरन्तरता दिन र विषयगत संघहरु विच एकता कायम गरी सहकारी अभियानलाई शुद्धिकरण गर्न स्तरीकरण कार्यक्रमले टेवा पुर्याउने बताए ।
बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले कार्यक्रमको सहजीकरण गर्दै प्रतिस्थापन विद्ययेक र प्रदेश सरकारसंगका साझेदारीमा सम्पन्न हुन गईरहेको गोष्ठीकाबारेमा पनि जानकारी दिए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले भक्तपुर जिल्लाको परिचय सहित भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले समग्र सहकारी अभियानमा खेलेको भूमिका र उपलव्धीबारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा १० वटै जिल्ला संघ सहित बागमती प्रोस्कूनको प्रस्तुतीकरण मार्फत संघहरुको वित्तीय तथा गैर वित्तीय गतिविधीहरुको प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा प्रदेशको साझा सम्पत्ति स्वरुप व्यक्तिगत क्षमता विकासका लागि धारण निर्माण, दबाब परीक्षण र प्रभावकारी कार्य मूल्य गरी तीन वटा विषयका पाठ्यक्रम तयार गर्ने छलफल भएको थियो ।
दोस्रो कार्यशाला काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को आयोजनामा २०८२ असारको पहिलो सातामा आयोजना गर्ने निर्णय गर्दै कार्यशाला गोष्ठी सम्पन्न भएको कास्कूनका महासचिव निरञ्जन सेढाईले जानकारी दिए। कार्यक्रममा ११ वटा संघका अध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरुसमेत गरी ३३ जनाको उपस्थिति रहेको थियो ।
Leave a comment