मोरङ्गमा राष्ट्रिय सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन

मोरङ्गमा राष्ट्रिय सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन :: Sahakari Akhabar

बिराटनगर । मोरङ्ग जिल्लामा राष्ट्रिय सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । जिल्ला बचत तथत ऋण सहकारी संघ लि. मोरङ्गकी उपाध्यक्ष सीता लामिछानेका अनुसार मोरङ्ग जिल्लाका सबै सहकारी संघहरु, अग्रज सहकारीकर्मीहरु, राष्ट्रिय सहकारी बैंक, सहकारी कर्मचारी संगठन लगायतको उपस्थितीमा हिजो सम्पन्न संयुक्त बैठकले जिल्ला सहकारी संघ मोरङ्गका अध्यक्ष डा.डिल्ली पोख्रेलको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।

सहकारीमा देखिएको पछिल्लो समस्या र नितिगत सुधारका निमित्त राजधानी केन्द्रित कार्यक्रम गरेर दबाब सृजना गर्नु पर्ने आवश्यकता भएकाले यस बर्षको सहकारी दिवसको मूल कार्यक्रम कोशी प्रदेशको राजधानी बिराटनगरमा गर्ने निर्णय भएको प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरीप्रसाद सुवेदीले बताए ।

जिल्ला कृषि सहकारी संघ मोरङ्गका अध्यक्ष रविन्द्र आचार्यका अनुसार हाल विभिन्न राजनीतिक दल र समूह समेतले गरिरहेको बन्द, हड्ताल र विविध गतिविधि एवं सडकको अवस्थालाई समेत मध्यनजर गर्दै बिराटनगरमै मूल कार्यक्रम गरिए पनि जिल्लाका १६ वटै पालिकामा विभिन्न कार्यक्रमहरु भने संचालन गरिने छन् ।

राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा हजारौ सहकारी कर्मीहरुको उपस्थिती रहने र सहकारी प्रति अझै पनि सर्वसाधारणको आकर्षण रहेको प्रमाणित गराउने अवसरका रुपमा मनाउन लागिएको जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारीले बताए।

वि.सं. २०१३ चैत्र २० गते नेपालमा पहिलो पटक सहकारी स्थापना भएको सम्झनामा हरेक वर्ष उक्त दिन राष्ट्रिय सहकारी दिवसका रुपमा मनाईदै आईरहेको छ । नेपालले यो वर्ष ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउँदै छ।
 



Leave a comment