काठमाडौं । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा कृषि सहकारीहरुका लागि व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले अन्नपूर्ण गाउँपालिकामा रहेका कृषि सहकारीकालागि तीनदिने ब्यवस्थापन तालिम दिएको हो । फागुन २१ गते सम्पन्न सहकारी व्यवस्थापन तालिमको समन्वय अन्नपूर्ण गाउँपालिका, गण्डकी प्रदेश कृषि सहकारी संघ र जिल्ला सहकारी संघ कास्कीले गरेका थिए ।
कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी अधिकारी र जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष मीरा अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा महानगरपालिका समेतका कृषि उत्पादन कार्यमा लागेका विभिन्न सहकारी संघ संस्थाका ३६ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विष्णु बहादुर केसीले सहकारीमार्फत समृद्धि हासिल गर्ने दिशामा पालिका अघि बढिरहेको भन्दै राम्रो कार्य गर्ने योजना पेश गर्ने सहकारीलाई प्रोत्साहित गर्ने बताए । अध्यक्ष केसीले बाँझो जमिन उपयोग गरी उत्पादन बढाउन र युवालाई कृषि कर्ममा आकर्षित गरी विदेश पलायन रोक्नतर्फ पालिका लागेको बताए ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले कृषि प्रधान मुलुक बाँझो देश हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै पालिकाले कृषि उत्पादन, दूग्ध उत्पादन र फलफूल तथा तरकारी उत्पादनमा कृषकलाई प्रोत्साहित गरिरहेको बताए । गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजीप्रसाद अधिकारीले कृषकले उत्पादन गरेको बस्तुको प्रवर्धन र मूल्य निर्धारण पालिकाबाट हुनुपर्ने बताए । कृषि सहकारी संघकी अध्यक्ष मीरा अधिकारीले तालिम उपलब्धिमूलक भएको र सहकारीका हरेक गतिविधि कृषकसँग जोडिनुपर्ने धारणा राखिन ।
उक्त तालिममा कृषि व्यवसाय प्रवर्धन तथा तालिमकेन्द्रका कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत ईश्वरी ढकाल र शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यपत्र प्रस्तुती गरेका थिए । तलिममा कृषि उत्पादन प्रवर्धन र बजारीकरण, ऋण लगानी तथा ऋण असुली, कोष व्यवस्थापन, सहकारीका सञ्चालक समेतको भूमिका, सहकारी कानुन लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
Leave a comment