हाइलाइट

सिएमएफ दोलखाले गर्यो सहकारीका समस्यामा अन्तरकृया 

सिएमएफ दोलखाले गर्यो सहकारीका समस्यामा अन्तरकृया  :: Sahakari Akhabar

काठमाडौं । सहकारी ब्यवस्थापक फोरम (सिएमएफ) दोलखाले वर्तमान सहकारीका समस्या बारे छलफल तथा अन्तरकृया गरेको छ ।

दोलखाका सहकारीकर्मी लाई एकै ठाउँमा भेला गराएर सिएमएफले सहकारी क्षेत्रका वर्तमान समस्याको विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो ।

कार्यक्रमलाई जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाले समन्वय गरेका थिए । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा वर्तमान वित्तीय वातावरणमा सहकारी व्यवस्थापकको भूमिका विषयमा अन्तरक्रिया गरिएको थियो।

सिएमएफ दोलखा संयोजक इश्वर न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघका दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा फुयाँल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्का लगायत जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

२०७६ सालमा सिएमएफ दोलखा गठन भएको र उक्त संस्थाले जिल्लामा रहेका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि र संस्थाहरुको सुशासन प्रवर्धनमा सहयोग पु‍र्याउँदै आएको जिल्ला संघका अध्यक्ष फुयाँलले बताए ।

सिएमएफ दोलखा जिल्ला संघभित्र रहने भन्दा पनि छुट्टै संस्थाको रुपमा दर्ता गरेर जाने गरी अगाडि बढेको उनले जनाए । त्यसका लागि आवश्यक विधानको ढाँचा तयार गरेको र पहिलो भेलाले उक्त ढाँचालाई पारित गरेको उनको भनाई छ ।

संस्था दर्ता गर्नको लागि यस अघि गठन भएको समितिलाई पुनरगठन गरि नयाँ समिति समेत गठन गरेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी सस्ंथाको लागि जारी गर्नको लागि तयार पारेको मस्यौदा, सहकारी अध्यादेश, सम्पत्ति शुद्धिकरणको पछिल्लो संशोधन र सहकारी संस्था हालको अवस्था र आगामी दिनमा सहकारी संस्थालाई कसरी व्यवस्थापन गरेर लैजाने लगायतका विषयमा छलफल भएको उनले बताए ।

जिल्लामा रहेका सहकारी संस्थामा बचत फिर्ताको समस्या नभए पनि ऋण असुली  र अधिक तरलता नै मुख्य समस्या रहेको उनको भनाई छ । जिल्लामा ४ सय  ५० सहकारी संस्था दर्ता रहे पनि २ सय संस्था मात्रै सक्रिय रहेका छन् ।

जिल्लामा रहेका सहकारी संस्थामा मध्ये ८ देखि १० वटा   सहकारी मात्रै क्षमतावान रहेको र सबै संस्थालाई सुशासनमा लैजान, प्रविधिको प्रयोगमा सघाउन र सरकारले जारी गर्ने ऐन नियमको विषयमा जानकारी दिन सिएमएफले स्रोतको रुपमा काम गर्ने उनको भनाई छ ।

कार्यक्रममा हाम्रो जनकल्याण साकोसका सीइओ दिपक बस्नेतको अध्यक्षतामा सिएमएफको नयाँ समिति समेत गठन भएको छ ।



Leave a comment